सुर्खेत । आगामी निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ ले आफ्ना भिजनरी एजेन्डाहरू सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्र पार्नुभएको छ। सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा मल्लले अन्य उम्मेदवारहरू मौन रहँदा आफूले भने स्पष्ट खाकासहित जनतामा जाने साहस गरेको बताउनुभयो। पूर्व जनमुक्ति सेनाका कमान्डर एवं युवा नेताका रूपमा स्थापित मल्लले यसपटक मतदाताहरू ‘फ्रेस फेस’ र युवा नेतृत्वको पर्खाइमा रहेको दाबी गर्नुभयो।

विगतका निर्वाचनहरूमा गठबन्धनका कारण आफ्नै उम्मेदवारलाई भोट हाल्न नपाएका माओवादी कार्यकर्ता र आम मतदाता यसपालि आफ्नै चिन्हमा मतदान गर्न उत्साहित रहेको उहाँको अनुभव छ। मल्लले जनयुद्ध र कठोर संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि (गणतन्त्र, संघीयता, समावेशिता) लाई संस्थागत गर्दै अब जनताको जीवनस्तर बदल्न आफूले नेतृत्व लिने संकल्प गर्नुभयो। उहाँले विगतमा पश्चिम सुर्खेतमा आफूले सुरु गरेका विकासका योजनाहरूलाई पूर्णता दिनु नै आफ्नो मुख्य ध्येय रहेको स्पष्ट पार्नुभयो।
मल्लका मुख्य चुनावी प्रतिबद्धताहरू:
-
शिक्षा र प्रविधि: प्रत्येक स्थानीय तहमा ‘आइटी कलेज’ स्थापना गरी रोजगारीमूलक र प्रविधिमैत्री शिक्षाको सुनिश्चितता गर्ने।
-
सहरी विकास: प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक नमुना सहरका रूपमा विकास गर्दै उपमहानगरपालिकामा स्तरोन्नति गर्ने र ग्रामीण क्षेत्रमा व्यवस्थित बस्ती विकास गर्ने।
-
स्वास्थ्य सेवा: प्रदेश अस्पताललाई राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउने र पालिकास्तरमा विशेषज्ञसहितको स्वास्थ्य सेवा पुर्याउने।
-
पूर्वाधार निर्माण: ‘उज्यालो सुर्खेत’ अभियानअन्तर्गत घर-घरमा बिजुली, खानेपानी र टोल-टोलमा सडक पुर्याउने। विमानस्थल र रत्न राजमार्गको स्तरोन्नतिलाई प्राथमिकता दिने।
-
सामाजिक न्याय: जातीय विभेदको पूर्ण अन्त्य गर्दै मानवअधिकार र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने।
प्रतिक्रिया दिनुहोस्