सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्ष दल (नेकपा) ले वर्तमान सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। सोमबारको बैठकमा बोल्दै पूर्वमन्त्री एवं सांसद कृष्णबहादुर जिसीले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार हरेक मोर्चामा असफल भइसकेको दाबी गर्नुभयो। सरकारले जतिसुकै ढाकछोप गर्न खोजे पनि आफ्ना कमजोरी लुकाउन नसक्ने भन्दै उहाँले सत्तापक्षको अदूरदर्शिताका कारण प्रदेशले ठुलो क्षति बेहोर्नुपरेको टिप्पणी गर्नुभयो।

विशेषगरी बजेट कार्यान्वयनको सुस्त गति र खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिमा देखिएको अपारदर्शिताले सरकारको गैरजिम्मेवारीपन छताछुल्ल पारेको जिसीको आरोप छ। सिफारिस समितिको वैधता र अङ्क सार्वजनिक गर्ने प्रक्रियामाथि प्रश्न उठाउँदै उहाँले सरकारका यस्तै अपरिपक्व गतिविधिका कारण नै अहिले सङ्घीयतामाथि प्रश्न उठ्ने वातावरण बनेको चेतावनी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्