२०८३ वैशाख ६ , आइतबार
कर्णालीमा बाल विवाह विरुद्धको अभियान तीव्र

५ हजारभन्दा बढी मानिस सहभागी भएकाे अभियानकर्मीकाे दाबी



सुर्खेत । नेपाललाई सन् २०३० सम्ममा बाल विवाह मुक्त बनाउने सरकारी लक्ष्यलाई सघाउन कर्णाली प्रदेशमा ‘बाल विवाह मुक्त नेपाल अभियान २०८२’ उत्साहजनक रूपमा अघि बढेको छ। राष्ट्रिय बाल अधिकार परिषद् र विभिन्न संस्थाहरूको समन्वयमा सञ्चालित यस अभियानमार्फत हालसम्म कर्णालीका ५ हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष रूपमा जोडिएका छन्।

अभियानअन्तर्गत सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, लेकबेसी र बराहतालका साथै दैलेखको गुराँस गाउँपालिकाका विद्यालय र समुदायहरूमा विशेष कार्यक्रमहरू गरिएका छन्। यस क्रममा बालबालिका, अभिभावक र स्थानीय सरोकारवालाहरूलाई बाल विवाहका नकारात्मक असर र कानुनी सजायबारे जानकारी दिँदै सामूहिक प्रतिबद्धता समेत गराइएको छ। सहभागीहरूले बाल विवाहलाई सामाजिक कुरीति मात्र नभई बालबालिकाको स्वास्थ्य र भविष्यमाथि हुने गम्भीर मानव अधिकार उल्लंघनका रूपमा स्विकारेका छन्।

मंसिरदेखि सुरु भएको यो सय दिने अभियान सातै प्रदेशमा सञ्चालन भइरहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा यसको नेतृत्व बेस संस्थाले गरिरहेको छ। विद्यालयमा सचेतना, अभिभावक भेटघाट र छलफलजस्ता गतिविधिले समुदायस्तरमा बाल संरक्षणको संयन्त्रलाई बलियो बनाउने विश्वास लिइएको छ। बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्नु नै यस अभियानको मुख्य उद्देश्य रहेको छ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार