सुर्खेत । सुर्खेतमा बढ्दो लागुऔषध दुर्व्यसन रोक्न प्रहरीले नयाँ प्रविधि भित्र्याएको छ। अब ‘र्यापिड ड्रग टेस्ट’ किटमार्फत सेवनकर्ताको तुरुन्तै पहिचान गरिनेछ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न सरोकारवाला निकायसँग मिलेर यो अभियान सुरु गरेको हो। किशोर र युवा अवस्थाका व्यक्तिहरू कुलतमा फसेर समाज नै जोखिममा परेपछि यो वैज्ञानिक विधि अपनाइएको हो।

यो परीक्षण निकै आधुनिक र भरपर्दो छ। मानिसको थुक वा पिसाबको नमुनाबाट गाँजा, हिरोइन, कोकेन र फेन्टानिलसहित १२ प्रकारका लागुऔषध खाए/नखाएको एकैछिनमा थाहा हुन्छ। विशेषगरी सार्वजनिक सवारीका चालक, सह-चालक, शङ्कास्पद गतिविधिमा लागेका युवा र विद्यार्थीलाई लक्षित गरी यो परीक्षण गरिनेछ। यसका लागि वीरेन्द्रनगर बसपार्क, छिन्चु, मेहलकुना र बाबियाचौर लगायतका ठाउँमा परीक्षण केन्द्रहरू तोकिएका छन्।
परीक्षणमा लागुऔषध सेवन गरेको देखिएमा कानुनअनुसार कारबाही हुनेछ। साथै, सुधार हुन चाहनेहरूका लागि पुनर्स्थापना केन्द्र र परामर्शको पनि व्यवस्था गरिएको छ। प्रहरीले यो अभियान दण्ड दिन मात्र नभई समाजलाई सुधार्न ल्याएको बताएको छ। लागुऔषध मुक्त समाज बनाउन अभिभावक र विद्यालयलाई पनि सचेत रहन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्