सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले देश अहिले निकै गम्भीर राजनीतिक सङ्कटमा फसेको दाबी गर्नुभएको छ। आइतबार प्रदेश सभाको हिउँदे अधिवेशनमा बोल्दै उहाँले वर्तमान संविधान ‘अर्धघाइते’ अवस्थामा पुगेको बताउनुभयो। ‘जेनजी’ आन्दोलनको जगमा बनेको सङ्घीय सरकारले संविधानका मुख्य आधारहरू नै भत्काउन खोजेको उहाँको आरोप छ।
मुख्यमन्त्री कँडेलका अनुसार प्रधानमन्त्री र मन्त्रीहरू आफैँ राजनीतिक दल र नेताहरूविरुद्ध घृणा फैलाउन लागिपरेका छन्। उहाँले अहिलेको असुरक्षित वातावरणमा निर्वाचन गराएर लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाउने खेल भइरहेको तर्क गर्नुभयो। नेपाललाई भू-राजनीतिक चलखेलको केन्द्र बनाउने षड्यन्त्र भइरहेकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो।
सङ्घीय सरकारले प्रदेशको अस्तित्व नै मेट्न खोजेको कँडेलको गुनासो छ। केन्द्रले कर्मचारी संयन्त्रलाई समेत दबाब दिएर प्रदेश संरचनाको महत्त्व घटाउन खोजेको उहाँले बताउनुभयो। संविधानले तीन तहका सरकारबिच सहकार्यको कल्पना गरे पनि केन्द्रले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरिरहेको उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्