सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। २०८२ माघ १७ गते सञ्चालन भएको उक्त परीक्षामा आर्थिक प्रलोभनमा परी किर्ते कागजातका आधारमा सहभागी भइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूले वास्तविक परीक्षार्थीको नागरिकता र प्रवेशपत्रमा आफ्नै फोटो टाँसेर र हस्ताक्षर समेत परिवर्तन गरेर परीक्षा दिएका थिए। पक्राउ पर्नेहरूमा जाजरकोट, दैलेख, सुर्खेत र बाँके जिल्लाका विभिन्न स्थानीय तहका व्यक्तिहरू रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार समातिएकाहरू मध्ये केही अरूको सट्टामा परीक्षा दिने नक्कली परीक्षार्थी हुन् भने केही आफ्ना सट्टामा अरूलाई परीक्षा दिन लगाउने वास्तविक परीक्षार्थी र एक जना यस घटनामा संलग्न मुख्य मतियार रहेका छन्।
पक्राउ परेका सबै १२ जनामाथि अहिले लिखत किर्ते र अपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। लोकसेवा जस्तो मर्यादित संस्थाको परीक्षामा यस्तो किसिमको ठगी र किर्ते काम भएको फेला परेपछि सुरक्षा र अनुसन्धानमा थप कडाइ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्