सुर्खेत । आइतबारदेखि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेदेखि प्रदेशसभाको बैठक सुरु हुने छ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनँएको छ ।
जेनजी आन्दोलनपछि पहिलो पटक कर्णाली प्रदेशसभाको विधेयक अधिवशेन नयाँ स्थानबाट सुरु हुने भएको छ । आन्दोलनका क्रममा प्रदेशसभाको भौतिक संरचनामा क्षति पुगेपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहलमा अधिवेशन सुरु हुने भएको कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । ‘जेनजी आन्दोलनका कारण पुरानो स्थानमा बैठक बस्न सक्ने अवस्था छैन’ उनले भने, ‘केही समयका लागि कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहलमा बैठक बस्छ ।’

बैठक कक्ष नभएपनि ६ महिनाभित्रै प्रदेशसभा बैठक बस्नुपर्ने कानुनी बाध्यतालाई ध्यानमा राखेर प्रदेशसभाको बैठक आह्वान गरिएको हो । आन्दोलनमा आगजनीपछि बैठक कक्ष ध्वस्त भएको प्रदेशसभा सचिवालयले प्रदेशसभा परिषरमै बैकल्पिक रुपमा नयाँ भवन निर्माण गरिरहेको छ ।
साविक प्रिफ्याप हल रहेको स्थानमा करिव १३ लाख रुपैयाँमा निर्माण भइरहेको भवनको निर्माण सम्पन्न भएको छ । सोही कारण केही समयका लागि कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहल बैठक बस्न लागेको हो ।
जेनजी आन्दोलनका क्रममा प्रदेशसभा बैठक कक्ष लगायत सचिवालयमा रहेका सम्पूर्ण भौतिक संरचनमा क्षति पुगेको थियो । सोही कारण प्रदेशसभाको हल हाल खरानी अवस्थामा छ । उक्त हल बनाउने प्रक्रिया अझै सुरु भएको छैन ।
आगजनीपछि प्रदेशको हल पुन प्रयोग गर्न मिल्छ या मिल्दैन भनेर अध्ययन नै भइसकेको छैन । प्रदेशसभा सचिवालयले उक्त हल प्रयोग गर्न मिल्ने नमिल्ने विषयमा अध्ययन गर्न सरकारसँग आग्रह गरेको छ । प्रदेश सरकारकै आग्रहमा हाल मध्यपश्चिम विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ्ग संकायले उक्त भवन प्रयोग गर्न मिल्ने वा नमिल्ने भनेर अध्ययन गरिरहेको छ ।
भवन प्रयोग गर्न मिल्ने भए सोही भवनमा प्रदेश सभाको बैठक कक्षका लागि पुननिर्माण गर्ने र प्रयोग गर्न नमिल्ने भए भवन नै भत्काएर पुननिर्माण गर्नुपर्ने छ ।
त्यस्तै बैठक यसअधि जस्तै प्रत्यक्ष प्रसारण गरिने छ । प्रत्यक्ष प्रसारण गरिने उपकरण आगजनीमा नष्ट भए पनि सचिवालयले भैरवी मिडिया हाउसका उपकरणहरु सहयोग लिएर प्रत्यक्ष प्रसारण गर्न लागेको हो । नागरिकलाई बैठकमा हुने सम्पूर्ण गतिविधिको जानकारी दिने उद्देश्यले प्रत्येक्ष प्रसारण गर्न सचिवालयले जनाएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालयका क्यामेरा, लाइफ रकर्डर, कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्रीहरु पनि नष्ट भएका थिए ।
प्रतिक्रिया दिनुहोस्