सुर्खेत । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘नागरिक स्वास्थ्य परीक्षण’ कार्यक्रमले प्रदेशमा नसर्ने रोगहरूको जोखिम तीव्र रूपमा बढ्दै गएको चिन्ताजनक तथ्य सार्वजनिक गरेको छ। सामाजिक विकास मन्त्रालयले आठ जिल्लाका २२ हजार ७ सय ५१ जनामा गरेको परीक्षणमा ११ प्रतिशत (२,५३६ जना) मा उच्च रक्तचाप, ६ प्रतिशतमा मधुमेह र ३ प्रतिशतमा मिर्गौला सम्बन्धी समस्या देखिएको हो।

विश्व स्वास्थ्य संगठनका प्रदेश प्रमुख प्रदिपराज अधिकारीका अनुसार, कर्णालीमा पछिल्लो समय मुटु, क्यान्सर र दीर्घकालीन श्वासप्रश्वासका बिरामी बढ्दै जानुको मुख्य कारण अस्वस्थ खानपान र फेरिएको जीवनशैली हो। पहिले सरुवा रोगका कारण मृत्यु हुने गरेकोमा अहिले सूर्तिजन्य पदार्थ, मदिरापान र शारीरिक व्यायामको कमीले गर्दा नसर्ने रोगका कारण अकालमै ज्यान गुमाउनेको संख्या बढ्दो छ। तथ्याङ्क अनुसार सुर्खेत जिल्ला सबैभन्दा बढी जोखिममा देखिएको छ, जहाँ परीक्षण गरिएकामध्ये ठूलो संख्यामा रक्तचाप र मधुमेहका बिरामी भेटिएका छन्।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले कानुन र नीतिहरू भए पनि कार्यान्वयन र नियमन फितलो हुँदा समस्या जटिल बनेको बताउनुभयो। यस्तै, कर्णाली प्रदेशका कृषि मन्त्री विनोदकुमार शाह र योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले प्रदेशलाई ‘अर्गानिक कर्णाली’ बनाउने नीति बने पनि नागरिकको व्यवहार परिवर्तन र उत्पादनमा रासायनिक प्रयोग रोक्नु मुख्य चुनौती रहेको स्वीकार गर्नुभयो। विज्ञहरूले बाल्यावस्थादेखि नै स्वस्थ जीवनशैली अपनाउन र रैथाने बालीको उपभोगमा जोड दिन सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्