२०८३ वैशाख ७ , सोमबार
विष्णु खड्काले भने

‘म पूर्णबहादुरको भाइ मात्र भएकाले टिकट पाएको होइन’  



सुर्खेत । नेपाली कांग्रेसका नेता तथा सुर्खेत क्षेत्र नम्बर १ का उम्मेदवार विष्णुकुमार खड्काले आफूमाथि लागेको ‘परिवारवाद’ को आरोपको खण्डन गरेका छन्। शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेता पूर्णबहादुर खड्काको भाइ भएकै कारणले मात्रै टिकट पाएको भन्ने चर्चा गलत रहेको स्पष्ट पारे। कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा गरेपछि सोही क्षेत्रमा उनका भाइ विष्णुले टिकट पाएपछि अहिले राजनीतिक वृत्तमा नैतिक प्रश्न र परिवारवादको बहस चर्किएको छ।

विशेष महाधिवेशनपछि खड्का समूहले आधिकारिकताको विषयलाई लिएर अदालतमा मुद्दा लडेको र अर्कोतर्फ सभापति गगनकुमार थापाकै हस्ताक्षर भएको टिकट विष्णु खड्काले पाएपछि यसलाई निकै चासोका साथ हेरिएको छ। यसबारे प्रष्टीकरण दिँदै उम्मेदवार विष्णुले आफू सन् २०४६ देखि नै निरन्तर पार्टीको सक्रिय राजनीतिमा रहेको, क्षेत्रका हरेक समस्यामा प्रत्यक्ष संलग्न भएको र व्यक्तिगत त्यागकै कारण पार्टीले विश्वास गरेर टिकट दिएको दाबी गरे। विपक्षीहरूले क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित देखेपछि डराएर परिवारवादको अनावश्यक हल्ला फिँजाएको उनको आरोप छ।

सुर्खेत कांग्रेसका उपसभापति समेत रहेका खड्का, जो यातायात र मेडिकल व्यवसायमा पनि आबद्ध छन्, उनले आफू सांसद निर्वाचित भएमा विगतको भन्दा अझ प्रभावकारी र जनमुखी काम गर्ने प्रतिबद्धता जनाएका छन्। खड्काले आफूमाथिको प्रहारलाई राजनीतिक प्रोगाण्डाको संज्ञा दिँदै आफ्नो क्षेत्रमा कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने समेत जिकिर गरे।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार