सुर्खेत । नेकपा एमालेका सचिव यामलाल कँडेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मतदान केन्द्र केन्द्रित हुन निर्देशन दिएका छन्। सुर्खेत क्षेत्र नं. १ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब चुनावी शैली परिवर्तन गर्नुपर्नेमा जोड दिए। अब ठूला सभा र भीडभाड गर्नुभन्दा पनि मतदाता नामावली भएको ठाउँमै पुगेर योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनको भनाइ छ।

कँडेलले चुनावमा प्राप्त हुने मतकै आधारमा नेतृत्वको मूल्याङ्कन हुने भएकाले प्रत्येक कार्यकर्ताले आफ्नो जिम्मेवारी गम्भीरताका साथ पूरा गर्नुपर्ने बताए। यो चुनाव कुनै एक व्यक्तिको मात्र नभई पार्टीको विचार र सिद्धान्तको लडाइँ भएकाले सबै कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले उल्लेख गरे। व्यक्तिभन्दा कमिटी प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले उम्मेदवार नभए पनि कार्यकर्ताले टोल र वडा नछोड्न आग्रह गरे।
जनताको घरदैलोमा पुगेर समाजसेवाको भावनाका साथ पार्टीका नीतिहरू स्पष्ट राख्न उनले निर्देशन दिए। संगठन बलियो भएमा मात्र विजय निश्चित हुने विश्वास व्यक्त गर्दै उनले अनुशासन र सक्रियताका साथ निर्वाचन अभियानमा जुट्न सबै कार्यकर्तालाई आह्वान गरे।
प्रतिक्रिया दिनुहोस्