२०८३ वैशाख ७ , सोमबार
कर्णालीमा बीमाको दायरा

३४ प्रतिशत नागरिक पहुँचमा, ४७ अर्बको व्यवसाय



सुर्खेत । कर्णाली प्रदेशमा बीमाप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ। नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतका अनुसार हालसम्म यहाँका करिब ३४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेका छन्। प्रदेशभर हाल ५ लाख ७४ हजार १०० भन्दा बढी बीमालेख कायम रहेका छन्, जसमा जीवन बीमातर्फको हिस्सा निकै ठूलो देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सुर्खेतमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख निलप्रसाद लामिछानेले बीमालाई गरिबीको पुस्तान्तरण रोक्ने मुख्य माध्यम र विपत्तिको सारथिको रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार कर्णालीमा हालसम्म कूल २ अर्ब ९२ करोड १९ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क सङ्कलन भएको छ भने समग्र बीमा व्यवसायको आकार ४७ अर्ब रुपैयाँ नाघेको छ।

बीमाको दायरा फराकिलो बनाउन कर्णाली प्रदेश सरकारले ‘एक स्थानीय तह, एक बीमक’ कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणका अनुसार हालसम्म प्रदेशका १६ हजार घरधुरीको बीमा भइसकेको छ। विपद्का कारण ती घरहरूमा क्षति पुगेमा बीमा कम्पनीमार्फत क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको प्राधिकरणका अधिकारी वीरबहादुर माझीले जानकारी दिनुभयो।

यता सञ्चारकर्मीहरूको सुरक्षालाई मध्यनजर गर्दै कर्णालीका ६९३ जना पत्रकारहरूको समेत स्वास्थ्य बीमा गरिएको छ। पत्रकार महासंघ कर्णालीका महासचिव खगेन्द्र भट्टराईले पत्रकारहरूले उपचारका क्रममा बढीमा ७० हजार रुपैयाँसम्मको खर्च दाबी गर्न सक्ने व्यवस्था रहेको बताउनुभयो। तर, उपचारपछि समयमै खर्च दाबी नगर्ने प्रवृत्ति देखिएकाले उपचार लिएको तीन दिनभित्रै प्रक्रिया सुरु गर्न उहाँले आग्रह गर्नुभयो।

तथ्याङ्कअनुसार कर्णालीमा बीमा व्यवसाय सुदृढ बन्दै गएको देखिए पनि अझै धेरै नागरिकलाई यसबारे सचेत गराउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। अर्बौँको लगानी र दाबी भुक्तानीको बढ्दो अवस्थाले कर्णालीमा बीमा कार्यक्रमले आर्थिक सुरक्षाको नयाँ आधार तय गरिरहेको प्राधिकरणको निष्कर्ष छ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार