२०८३ वैशाख ७ , सोमबार

कर्णालीको सुरक्षा कमाण्ड सापकोटाकाे काँधमा



कर्णाली प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयराम सापकोटाले कार्यभार सम्हालेका छन्। जिम्मेवारी सम्हालेलगत्तै उनले प्रदेशको शान्ति सुरक्षा र आगामी निर्वाचनलाई मुख्य प्राथमिकतामा राख्दै सुरक्षा कमाण्ड सम्हालेका हुन्।

बिहीबार सुर्खेतमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी सापकोटाले कर्णाली प्रदेशभरका सबै प्रहरी युनिटहरू निर्वाचन सुरक्षाका लागि परिचालित भइसकेको जानकारी दिए। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीले विशेष सुरक्षा रणनीति अख्तियार गरेको स्पष्ट पारे।

“हाम्रो पहिलो प्राथमिकता भनेकै आम नागरिकले सुरक्षित महसुस गर्ने गरी निर्वाचन सम्पन्न गराउनु हो,” डिआइजी सापकोटाले भने, “त्यसका लागि आवश्यक सुरक्षा योजना बनाएर टोलीहरू फिल्डमा खटिसकेका छन्।”

स्रोत र जनशक्तिको व्यवस्थापन कर्णालीको भौगोलिक विकटता र विद्यमान जनशक्तिबारे चर्चा गर्दै उनले हाल प्रदेशमा रहेका जनशक्ति, सवारी साधन र हातहतियारको अवस्थाबारे प्रधान कार्यालयलाई अवगत गराइएको बताए। “भइरहेको जनशक्तिलाई अधिकतम परिचालन गरेका छौँ। थप आवश्यक पर्ने जनशक्ति, हातहतियार र सवारी साधनका लागि प्रहरी प्रधान कार्यालयमा माग पठाइसकिएको छ,” उनले थपे।

अपराध नियन्त्रणमा शून्य सहनशीलता निर्वाचन सुरक्षाका साथै प्रदेशमा हुने अवैध गतिविधि, तस्करी र अपराध नियन्त्रणमा प्रहरीले ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति लिने उनले बताए। उनले समाजमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको भरोसा जित्न प्रहरी सक्रिय रहने प्रतिबद्धता समेत जनाए।

कार्यक्रममा उनले सूचना प्रवाहमा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै सत्य-तथ्य सूचनाका लागि प्रहरीसँग समन्वय गर्न आग्रह गरे। डिआइजी सापकोटा यसअघि पनि विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर कार्यसम्पादन गरिसकेका अनुभवी अधिकृत हुन्।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार