२०८३ वैशाख ७ , सोमबार
कोहलपुर–सुर्खेत १३२ केभीए विध्तुत

निर्माणकाे काम पूरा भाेलिदेखि जार्चिङ्ग गरिने



झण्डै ६ वर्षअघि सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाले अन्ततः पूर्णता पाएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको रुख कटान तथा स्थानीयको अवरोध छिचोल्दै आयोजनाले आगामी शुक्रबार (१६ माघ) देखि प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गर्ने तयारी गरेको छ ।

विसं २०७६ असार २२ मा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको यो आयोजना निर्धारित समयभन्दा झण्डै चार वर्ष ढिला गरी सञ्चालनमा आउन लागेको हो । सुर्खेतको कठिन भूगोल मानिने हर्रे खण्डमा तार तान्ने काम सकिएसँगै वीरेन्द्रनगर–११ सुब्बाकुनामा नवनिर्मित सबस्टेसनमा उच्च भोल्टेजको विद्युत् छोडिने आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए ।

अवरोध छिचोल्दै सफलता

नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा भारतीय कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले निर्माण गरेको यो आयोजनामा निकुञ्ज क्षेत्र र मुआब्जा विवाद मुख्य चुनौती बनेका थिए । आयोजनाका क्रममा १३ हजार रुख काटिएका छन् भने निकुञ्ज क्षेत्रमा वातावरणीय क्षति कम गर्न ड्रोन प्रविधिको प्रयोग गरी तार तानिएको थियो । जग्गाको मुआब्जा विवादमा सर्वोच्च अदालतको आदेश र झण्डै १६ करोड रुपैयाँ मुआब्जा वितरणपछि मात्र कामले गति लिएको थियो ।

भोल्टेजको समस्या हट्ने

हाल कर्णालीमा २०४५ सालमा विस्तार गरिएको ३३ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । पुरानो र कमजोर क्षमताको लाइनका कारण हावाहुरी चल्दा विद्युत् अवरुद्ध हुने र सुक्खा मौसममा ‘लो भोल्टेज’ को समस्या झेल्दै आएका कर्णालीबासीलाई यो नयाँ आयोजनाले ठूलो राहत दिने अपेक्षा गरिएको छ । यस आयोजनाले ५२ किलोमिटर दूरीमा १६२ वटा टावरमार्फत गुणस्तरीय विद्युत् प्रवाह गर्नेछ ।

सावधानी अपनाउन आग्रह

आयोजनाले १६ माघदेखि १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह हुने भएकाले प्रसारण लाइन विस्तार भएका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । परीक्षण अवधिभर टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि गाईवस्तु नछोड्न र बालबालिकालाई विद्युतीय संरचनाबाट टाढै राख्न आयोजनाले सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । यो प्रसारण लाइनलाई आगामी चरणमा सुर्खेतबाट दैलेख, कालीकोट हुँदै जुम्लासम्म विस्तार गर्ने लक्ष्य राखिएको छ, जसले कर्णालीका जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्न समेत मद्दत पुर्‍याउनेछ ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार