२०८३ वैशाख ७ , सोमबार
सुर्खेत–१ मा चुनावी रौनक

पुराना अनुहार र नयाँ उम्मेदवारबीच रोचक भिडन्त



सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनले छुट्टै राजनीतिक चर्चा र रन्को पैदा गरेको छ। लामो समयदेखि यो क्षेत्रमा पकड जमाउँदै आएका नेपाली कांग्रेसका पूर्व कार्यवाहक अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको सट्टा यसपटक उनका भाइ विष्णुबहादुर खड्का चुनावी मैदानमा उत्रिएपछि चुनावी समीकरण रोचक बनेको हो।

०४८ सालदेखि पटक–पटक चुनाव जित्दै आएका पूर्णबहादुरको विरासत जोगाउने भार यसपटक कांग्रेसले विष्णुको काँधमा सुम्पेको छ। कांग्रेसका जिल्ला उपसभापति एवं स्थापित व्यवसायी खड्का भन्छन्, “म उहाँको भाइ मात्र होइन, राजनीति र समाजसेवामा मेरो आफ्नै पहिचान छ। दाइले पूरा गर्न नसकेका योजना पूरा गर्न र बलियो संगठनको बलमा म विजयी हुनेछु।”

यद्यपि, खड्काका लागि चुनावी बाटो सहज भने देखिँदैन। नेकपा एमालेले यहाँ आफ्ना प्रदेश सचिव ध्रुवकुमार शाहीलाई उतारेको छ। शाही यसअघि २०७४ मा पूर्णबहादुरलाई पराजित गरेका र २०७९ मा उनैसँग पराजित भएका अनुभवी खेलाडी हुन्। महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति सुरु गरी दुई कार्यकाल जिल्ला अध्यक्ष चलाएका शाही ग्रासरुट राजनीतिमा आफ्नो राम्रो पकड रहेको दाबी गर्छन्।

त्रिपक्षीय भिडन्त र नयाँ शक्तिको उदय यस क्षेत्रमा कांग्रेस र एमालेका साथै नेकपाका जीतबहादुर राना पनि सशक्त उम्मेदवारका रूपमा देखिएका छन्। पूर्वलडाकु कमान्डर एवं माओवादीका पूर्वजिल्ला इन्चार्ज राना आफ्नो त्याग र जनतासँगको आत्मीय सम्बन्ध नै जितको मुख्य आधार भएको बताउँछन्।

पुरानो दलीय सिन्डिकेट तोड्ने दाबीसहित ‘जेन–जी’ (Gen-Z) आन्दोलनबाट उदाएका युवा नेता रविकिरण हमाल राप्रपाबाट चुनावी मैदानमा छन्। भ्रष्टाचार र बेथितिविरुद्धको एजेन्डा बोकेका हमाल युवा पुस्ताको रोजाइमा पर्ने आकलन गरिएको छ। त्यस्तै, कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका टेकबहादुर सिंह सुशासन र पुराना दलप्रतिको वितृष्णालाई भोटमा बदल्ने रणनीतिमा छन्।

अंकगणित र भूगोल सुर्खेत क्षेत्र नम्बर १ मा भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिका तथा सिम्ता र चिन्गाड गाउँपालिकाका साथै वीरेन्द्रनगरका केही वडा समेटिएका छन्। गत स्थानीय तहको निर्वाचनमा एमालेले अधिकांश पालिका जितेको भए पनि गुर्भाकोटमा कांग्रेसको वर्चस्व छ।

कुल १३ जना उम्मेदवार रहेको यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र नेकपाबीच नै हुने देखिए पनि रास्वपा र राप्रपाले काट्ने मतले परिणाममा ठूलो फेरबदल ल्याउन सक्ने नागरिक अगुवाहरूको विश्लेषण छ। मतदाताहरू यसपटक उम्मेदवारको आश्वासनभन्दा पनि क्षमता र डेलिभरीलाई हेरेर मतदान गर्ने मुडमा देखिन्छन्।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार