२०८३ वैशाख ५ , शनिबार
सामाजिक विकास मन्त्रालयको अफर

संस्कृतिक सम्पदाको उत्कृष्ट भिडियो बनाउ, पुरस्कार लैजाऊ



मासिक रूपमा उत्कृष्ट भिडियो छनोट हुनेलाई १५ हजार, वर्षभरिमा निर्माण भएका भिडियोहरू मध्येबाट सर्वोत्कृष्ट छनोट गरी नगद ३५ हजार पुरस्कार दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीका मूर्त र अमूर्त संस्कृतिको भिडियो बनाए पुरस्कार लैजान अफर गरेको छ । वार्षिक कार्यक्रम अनुसार मन्त्रालयले कर्णाली प्रदेशमा रहेका मूर्त र अमूर्त संस्कृति सम्पदाहरूको भिडियो निर्माण गर्ने र उत्कृष्ट हुनेलाई हरेक महिना पुरस्कृति गर्ने जनाएको छ । मन्त्रालयले चालु आर्थिक वर्षभरिमा यो कार्यक्रम लागू हुनेगरी सूचना मार्फत भिडियो निर्माण गर्न सार्वजनिक आव्हान गरेको हो ।
मन्त्रालयले कर्णालीका मूर्त र अमूर्त संस्कृति सम्पदाहरूको अभिलेखिकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो निर्माण गर्न आव्हान गरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । संस्कृति सम्पदाहरूको भिडियो बनाउनेहरु मध्येबाट मन्त्रालयले मासिक रूपमा उत्कृष्ट भिडियो छनोट हुनेलाई १५ हजार र प्रमाणपत्र पाउने मन्त्री भण्डारीले जानकारी दिए ।
त्यस्तै वर्षभरिमा निर्माण भएका भिडियोहरू मध्येबाट सर्वोत्कृष्ट छनोट गरी नगद. ३५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न पाँच विधामा प्रति विधागत भिडियोको नगद २० हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।
कर्णाली प्रदेशको मूर्त संस्कृति जस्तैः पुरातात्विक संरचना, मन्दिर, गुम्बा, परम्परागत घर, मूर्तिकला, धार्मिक सम्पदा, पर्यटकीय सम्पदा, जलसम्पदा आदि र अमूर्त संस्कृति जस्तैः मेला, पर्व. जात्रा, देवीदेवताका पैठ, लोकगीत, लोकनृत्य, लोककथा, रीतिरिवाज, मौखिक इतिहास, संस्कारकर्म, मागल, धमारी, ढटाह, आदिको श्रव्यदृश्य सामग्री भिडियो निर्माण गरी पुरस्कार प्राप्त गर्न सकिने जनाईएको छ । यीमध्ये मेला, पर्व, जात्रा, देवीदेवताका पैठ सम्बन्धी भिडियोहरू मासिक प्रतिस्पर्धाका लागि समावेश गरिनेछन् । यसबाहेकका भिडियोहरू मध्येबाट सर्वोत्कृष्ट र विधागत रूपमा उत्कृष्ट छनोट गरिने बताईएको छ ।
स्वस्फूर्त जोकोहीले भिडियो बनाएर आफ्नो युटुव च्यानल मार्फत प्रसारण गरी सोको लिंक मन्त्रालयले उपलब्ध गराएको इमेल ठेगाना पठाउन सकिने युवा तथा खेलकुद महाशाखाले जानाएको छ । महाशाखाका अनुसार भिडियो ५ देखि १० मिनेटसम्ममा पूर्ण परिचयात्मक तथा स्पष्ट सन्देशयुक्त हुनुपर्नेछ भने प्रचलित कानून बमोजिम प्रतिलिपी अधिकार प्राप्त भएको हुनुपर्ने शर्त राखिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार