२०८३ वैशाख ६ , आइतबार
सामाजिक विकास समिति

माघ १६ मा मन्त्री र सांसदसँग छलफल गर्दै



सुर्खेत । कर्णाली प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिले प्रदेशको कानून निर्माण र कार्यान्वयनको समीक्षाका लागि महत्त्वपूर्ण मानिएको कार्यविधि पारित गरेको छ।
सोमबार बसेको समितिको बैठकले ‘कानूनको उत्तर विधायिकी परीक्षण, अध्ययन तथा अनुसन्धानसम्बन्धी कार्यविधि, २०८१’ लाई आवश्यक संशोधनसहित पारित गर्ने निर्णय गरेको हो। यो कार्यविधि पारित भएसँगै प्रदेशले बनाएका पुराना कानूनहरू कत्तिको प्रभावकारी रहे र तिनमा के कस्तो सुधार आवश्यक छ भन्नेबारे औपचारिक रूपमा अध्ययन र अनुसन्धान गर्ने बाटो खुलेको छ।


प्रज्ञा प्रतिष्ठान विधेयकमा मन्त्री र सांसदलाई बोलाइयो
बैठकले समितिमा दफावार छलफलको क्रममा रहेको ‘कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ लाई अगाडि बढाउने निर्णय पनि गरेको छ।
उक्त विधेयकमा परेका संशोधन प्रस्तावहरू र विधेयकका प्रावधानबारे थप प्रष्ट हुन समितिले सरोकारवालालाई छलफलमा बोलाएको हो। आगामी माघ १६ गते बिहान ११:०० बजे बस्ने समितिको बैठकमा सामाजिक विकास मन्त्री र विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउने माननीय सदस्यहरूलाई आमन्त्रण गर्ने निर्णय भएको छ।
समितिको यो सक्रियतासँगै लामो समयदेखि विचाराधीन रहेको प्रज्ञा प्रतिष्ठान विधेयकले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ। कार्यविधि पारित हुनु र विचाराधीन विधेयकमाथिको छलफलले प्रदेशको विधायिकी कार्यलाई थप व्यवस्थित बनाउने समितिको विश्वास छ।

प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार