सुर्खेत । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्दप्रसाद रिजालले कर्णाली प्रदेशमा सुरक्षित यात्राको वातावरण तयार पार्न सचेत नागरिकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ। सुर्खेतमा क्रियाशील सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले ट्राफिक व्यवस्थापन नागरिककै हितका लागि भएको उल्लेख गर्नुभयो।

सञ्चारकर्मीहरूसँगको छलफलमा एसपी रिजालले सुर्खेतको मुख्य समस्याको रूपमा रहेको अव्यवस्थित पार्किङ र सिटी बसपार्कको व्यवस्थापनलाई प्राथमिकता दिने बताउनुभयो। विशेषगरी सुर्खेत उपत्यकामा अटो रिक्साहरूको मनपरी सञ्चालन र ट्राफिक नियमको उल्लंघनले यात्रा जोखिमपूर्ण बनेको भन्दै उहाँले त्यसलाई नियन्त्रण गर्न कडाइका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो।
“म त यहाँ अस्थायी पाहुना मात्र हुँ, केही समयपछि गइहाल्छु,” एसपी रिजालले भन्नुभयो, “तर कर्णाली तपाईंहरूको हो। यहाँ सुरक्षित यात्राको वातावरण बनाउन तपाईंहरू आफैँ सचेत र जिम्मेवार हुनुपर्छ। ट्राफिक प्रहरीले त केवल तपाईंहरूको यात्रालाई सहज बनाउन सहयोग गर्ने मात्र हो।”
धेरैले ट्राफिक प्रहरीलाई जरिवाना काटेर राजस्व संकलन गर्ने निकायका रूपमा बुझ्ने गरेकोमा असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयो, “ट्राफिक प्रहरी राजस्व संकलन गर्ने निकाय होइन, यो त नागरिकको ज्यान जोगाउने निकाय हो। तर, जसले नियम पालना गर्दैन र अरूको ज्यान जोखिममा पार्छ, त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कुनै हालतमा छोडिने छैन।”
कार्यक्रममा सञ्चारकर्मीहरूले सुर्खेतका विभिन्न चोकहरूमा हुने जाम, अव्यवस्थित पार्किङ र राजमार्गमा हुने तीव्र गतिको चेकजाँचलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए। एसपी रिजालले प्राप्त सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजाने र सञ्चारकर्मीहरूसँग निरन्तर समन्वय गरेर ट्राफिक व्यवस्थापनलाई नमुना बनाउने अठोट व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्