२०८३ वैशाख ७ , सोमबार
कर्णालीका बालबालिकामा नसर्ने रोगको भयावह अवस्था

एक हजार बालबालिका मानसिक समस्या



सुर्खेत । कर्णाली प्रदेश पछिल्ला वर्षहरूमा कर्णाली प्रदेशका बालबालिका तथा किशोरकिशोरीहरू नसर्ने रोग (NCDs) बाट नराम्ररी प्रभावित हुन थालेका छन्। कर्णाली प्रदेश अस्पताल, सुर्खेतको तथ्याङ्क अनुसार २० वर्षमुनिका बालबालिकामा नसर्ने रोगको सङ्क्रमण तीव्र रूपमा बढिरहेको पाइएको हो।

अस्पतालका सर्जन डा. सुवास शर्माका अनुसार हाल २० वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगको उपचार गराइरहेका छन्। मानसिक स्वास्थ्य बाहेक अन्य नसर्ने रोगको अवस्था पनि चिन्ताजनक छ। अस्पतालको तथ्याङ्क अनुसार मुटुसम्बन्धी रोगका २७, मधुमेहका १०, अटिजम स्पेक्ट्रम डिसअर्डरका १०, दमका ५ र क्यान्सरका १ जना बालबालिका उपचाररत रहेका छन्।

किन बढ्दै छ जोखिम? बालबालिकामा यस्ता गम्भीर समस्या देखिनुको मुख्य कारण अस्वस्थ जीवनशैली भएको चिकित्सकहरूको ठहर छ। डा. शर्मा भन्नुहुन्छ, “पत्रुखाना (जंक फुड) को बढ्दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरण (मोबाइल, ट्याब्लेट) को अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढाएको हो।”

सचेतना र सरकारी पहल यसैबीच, वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा युनिसेफ र सोसेक नेपालले आयोजना गरेको ‘सह-सिर्जना कार्यशाला’ मा सरोकारवालाहरूले यस विषयमा चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी वर्षदेखि विशेष नीतिगत व्यवस्था गरी प्रदेशभर सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले नगरपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गरिरहेको र आगामी दिनमा सचेतनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताउनुभयो। युनिसेफकी प्रतिनिधि दिपीका श्रेष्ठले बालबालिकाको स्वास्थ्य शिक्षा, पोषण र जीवनशैलीसँग जोडिएको विषय भएकाले गाउँगाउँसम्म जनचेतना पुर्‍याउन आवश्यक रहेकोमा जोड दिनुभयो।

विशेषज्ञहरूले समयमै स्वास्थ्य परीक्षण, सन्तुलित आहार, र नियमित व्यायामका साथै विद्यालय र परिवारको सहकार्य भएमा मात्र यो समस्या न्यूनीकरण गर्न सकिने सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार