२०८३ वैशाख ७ , सोमबार
गाउँ पसे उम्मेदवार

काम गर्ने अवसर दिन मतदातासँग कुलमणिकाे आग्रह




सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सुर्खेत क्षेत्र नं. २ का एमाले उम्मेदवार कुलमणि देवकोटाले काम गर्ने अवसर दिन मतदातालाई आग्रह गरेका छन् । चुनावी अभियानका क्रममा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका पुगेका देवकोटाले आफू नागरिकको समस्या र जनजीविकाका सवालमा निरन्तर सक्रिय रहेको बताउँदै जनपक्षीय कानुन निर्माणका लागि संसद्मा जान चाहेको बताए । ‘म निरन्तर तपाईंहरुकै साथमा हुनेछु, मतदातासँगको भेटघाट तथा अन्तरक्रियामा उनले भने, ‘काम गर्ने अवसर दिनुहोला ।’ देवकोटाले संसद्मा जाने अवसर पाए जिल्लाको समग्र विकाससँगै राम्रो नीति निर्माणका लागि काम गर्ने प्रतिबद्धतासमेत जनाए । मतदातासँग भेटघाट तथा पार्टीका विस्तारित बैठकहरुमा सहभागि हुन उनी आइतबार पश्चिम सुर्खेत गएका हुन् । उनले आइतबार र सोमबार त्यहाँका युवा, ज्येष्ठ नागरिकलगायत आम–मतदातासँग साक्षात्कार गरेका छन् । एमाले सुर्खेतको अध्यक्षसमेत रहेका देवकोटाले मतदातासँगको भेटले आफू निकै उत्साहित र ढुक्क भएको बताएका छन् ।


एमाले सुर्खेतले आसन्न निर्वाचन लक्षित गतिविधिलाई तिव्रता दिएको छ । सोही क्रममा सोमबार चौकुने गाउँपालिकाको वडा नं. ४ मा पार्टी कमिटीको आयोजनामा उम्मेदवारसहितको विस्तारित बैठक तथा छलफल सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष रमेश बिसीको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, बैठकमा प्रदेश कमिटी सदस्य हरि खनाल, प्रदेश कमिटी सल्लाहकार सदस्यहरू धीरबहादुर शाही र ताराकेशर गौतम, जिल्ला उपाध्यक्ष मोहन बडुवाललगायतको सहभागिता थियो ।

नेताहरुले बैठकलाई सम्बोधन गर्दै चौकुनेमा एमालेको संगठन सुदृढ गर्दै आसन्न निर्वाचनमा पार्टीलाई विजयी बनाउने बलियो आधार तयार गर्नेगरी चुनावी अभियानलाई तिव्रता दिन सुझाएका थिए ।

प्रकाशित मिति : २०८२ माघ १२ गते सोमबार