सुर्खेत । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६१औं स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशका १२६ जना असल ग्राहकहरूलाई सम्मान गरेको छ। बैंकको कर्णाली प्रादेशिक कार्यालयले विभिन्न विधामा ऋण लिई समयमै किस्ता बुझाउने र उत्कृष्ट कारोबार गर्ने ग्राहकहरूलाई कदरपत्रसहित सम्मान गरेको हो।
सुर्खेतस्थित बैंकका ६ वटा शाखाहरूबाट मात्रै ४२ जना ग्राहक सम्मानित भएका छन्। सम्मानित हुनेहरूमा नियमित निक्षेप संकलन गर्ने शिवप्रसाद खनाल, डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने पूर्णबहादुर कार्की, र विभिन्न व्यवसाय सञ्चालन गरिरहेका गणेशकुमार बस्नेत, नरबहादुर सुनार, जितनारायण विसी, रञ्जिताकुमारी थापा र सरस्वती पौडेललगायत छन्।

यस्तै, सुर्खेत शाखाबाट लक्ष्मी दिवाली, लालबहादुर थापा, विजयराम देवकोटा, शिवराज खड्का, गोविन्दबहादुर सिंह, डिलबहादुर थापा, कल्पना श्रेष्ठ, बालकुमारी रखाल, तुल्सी गौतम, सिद्धार्थ सनी रिसोर्ट, सीता केसी र रुपा श्रेष्ठलाई पनि सम्मान गरिएको छ।
ग्राहकहरूलाई कदरपत्र प्रदान गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बैंकहरूले अब उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। उनले भने, “अहिले बजारमा सकारात्मक संकेतहरू देखिएका छन्, त्यसैले बैंकले कृषि र उत्पादनका क्षेत्रलाई प्राथमिकता दिएर कर्जा प्रवाह गर्नुपर्छ।”
बैंकको सेवा सरल र सुलभ भएको भन्दै सम्मानित ग्राहकहरूले व्यावसायिक कर्जाको दायरा अझै फराकिलो बनाउन सुझाव दिएका छन्। कार्यक्रममा बैंकका प्रादेशिक प्रबन्धक दुष्यन्तराज निरौला, सुर्खेत शाखा प्रबन्धक कृष्णप्रसाद अर्याल र मूलपानी शाखा प्रबन्धक नेमबहादुर शाही लगायतको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस्