कर्णाली प्रदेशभर कुल ६१ वटा सामुदायिक क्याम्पसहरु मध्ये आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारले ३३ वटा सामुदाय क्याम्पसको भवन, शौचालय र घेरबार गरेको छ । पूर्वाधार निर्माणबाट १८ हजार ३ सय ७८ जना विद्यार्थी लाभाम्वित भएको छन् ।
सुर्खेत । कर्णाली प्रदेशमा शैक्षिण गुणस्तरमा सन्तोषजनक छैन । दुर्गम भूगोलका कारण कर्णाली जसरी हेपिन्छ बौद्धिक हिसावले पनि कर्णालीवासी त्यसैगरी हेपिनु परिरहेको अवस्था छ । प्रायः सबैको बुझाइमा कर्णालीका विद्यार्थीहरु कमजोर हुन्छन् भन्ने मानसिकता छ । हुन त अन्य प्रदेशको तहमा कर्णाली प्राथमिक तहदेखि उच्च शिक्षामा कमजोर छ । शिक्षामा कर्णाली पछाडि पर्नुमा समयमै पाठ्यपुस्तक नपुग्नु, कमजोर भौतिक पूर्वाधार, दक्ष जनशक्तिको अभाव र गुणस्तरिय शिक्षाका लागि उपयुक्त वातावरण लगायतका कारणहरु हुन् । यी दर्जनौ कारणमध्ये पूर्वाधार पनि एक हो । पूर्वाधार अभावकै कारण कतिपय क्याम्पस तथा विद्यालयमा पठन पाठनमा समेत असहज अवस्था छ ।
यही समस्या समाधानको लागि कर्णाली प्रदेश सरकारले पछिल्लो समय सामुदायिक क्याम्पसको पूर्वाधार निर्माणमा लगानी बढाउन थालेको छ । गाउँमै सुविधा सम्पन्न पूर्वाधार निर्माण गरेर गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले सामुदायिक क्याम्पसमा लगानी बढाएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । गाउँका विद्यार्थी गाउँमै टिकाउने र घरमै बसेर उच्चशिक्षा हाँसिल गर्न सक्ने बनाउने उद्देश्यले प्रदेश सरकारले सामुदायिक क्याम्पसमा पूर्वाधारमा लगानी बढाएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।
गाउँका क्याम्पसलाई पूर्वाधारका हिसावले सुविधा सम्पन्न गराउने रणनीति अनुसार गएको आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारले ३३ वटा सामुदाय क्याम्पसको भवन, शौचालय र घेरबार गरेको छ । पूर्वाधार निर्माणबाट १८ हजार ३ सय ७८ जना विद्यार्थी लाभाम्वित भएको छन् । क्याम्पसहरुको सुदृढिकरण र व्यवस्थापनका लागि मन्त्रालयले भवन निर्माण गरेको हो ।

यस्तै चालु आर्थिक वर्षमा पनि ३५ वटा भवन निर्माणका आयोजना पाइपालाइनमा छन् । समयमै ठेक्का प्रक्रिया गरेर यही आर्थिक वर्ष ३५ वटै क्याम्पसको भवन निर्माण गर्ने प्रदेश सरकारको योजना छ । ३५ वटा क्याम्पसको भवन निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता गरिसेको छ ।
कर्णाली प्रदेशभर कुल ६१ वटा सामुदायिक क्याम्पसहरु छन् । तीमध्ये अधिकाँश क्याम्पसमा पूर्वाधारको अभाव छ । आंशिक आवासिय सुविधा, ल्याब र पुस्तकालयमा न्यून सुविधा छन् । भौगोलिक रुपमा दुर्गम र पूर्वाधारका हिसावले पनि कमजोर हुँदा शैक्षिण गुणस्तरमा ठूलो असर पर्नसक्ने भन्दै सरकारले सामुदायिक क्याम्पसको पूर्वाधार निर्माणका लागि लगानी बढाएको हो ।
सामुदायिक क्याम्पस सुधार योजना अन्तरगत कर्णालीको समग्र उच्च शिक्षाको पहुँच, गुणस्तर र समावेशिता विस्तास गर्ने उद्देश्यले प्रदेश सरकारले सामुदायिक क्याम्पस सुधार योजना अगाडि सारेको छ । ग्रामिण बस्तीका क्याम्पसहरुको पूर्वाधारसँगै प्रदेश सरकारले कर्णाली सुहाउँदो शिक्षाका लागि समेत पहल गरिरहेको मन्त्री भण्डारीले जानकारी दिए । कर्णालीको भुगौल सुहाउँदो शिक्षा आर्जनका लागि विश्वविद्यालय र क्याम्पसको साझेदारीमा विभिन्न खोज तथा अनुसन्धानका कार्यहरु सञ्चालन गर्ने पहल भइएको मन्त्री भण्डारीले बताए ।
कर्णालीमा आफ्नै प्रादेशिक विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य लिएको प्रदेश सरकारले चालु आर्थिक वर्षमा क्याम्पसहरुको डिजिटलाइजेशनका बजेट पनि व्यवस्थापन गरेको छ । पूर्वाधारसँगै प्रदेश सरकारले शैक्षिक व्यवस्थापन, तालिम र पाठ्यक्रम सम्बन्धीका कार्यहरु समेत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्