२०८३ वैशाख ६ , आइतबार
कमजाेर सामुदायिक शिक्षा

कर्णालीमा छात्रभन्दा छात्राको विद्यालय छोड्ने दर उच्च



प्रदेशमा विद्यालय छोड्ने दर छात्रभन्दा छात्रामा उच्च रहेको तथ्याङ्क सार्वजनिक भएको छ। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘नेपालमा शिक्षा, समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरिएको हो।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालय, सामाजिक तथ्याङ्क महाशाखाका निर्देशक राजन सिलवालले राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्क प्रस्तुत गर्दै कर्णाली प्रदेशमा १८–१९ वर्ष उमेर समूहका छात्राहरू विद्यालय छोड्ने दर उच्च रहेको बताए। उनका अनुसार पढ्ने उमेरमै विद्यालय छोड्ने छात्राहरूको संख्या करिब १९ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो।

छात्राहरू विद्यालयबाहिर रहनुको मुख्य कारण बालविवाह (छिटो विवाह) रहेको सिलवालले बताए। त्यसपछि आर्थिक अभाव, उच्च शिक्षामा पहुँच नहुनु, पारिवारिक दायित्व र भौगोलिक बनोट पनि विद्यालय छोड्नुपर्ने प्रमुख कारणका रूपमा देखिएको उनको भनाइ छ।

उनका अनुसार ५–९ र १०–१४ वर्ष उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थित हुने दर भने ९१ प्रतिशत रहेको छ। तर उमेर र अध्ययन तह बढ्दै जाँदा विद्यालय वा क्याम्पस छोड्ने दर पनि बढ्दै गएको उनले बताए। यस अवस्थाले कर्णाली प्रदेशमा शैक्षिक पहुँच र पूर्वाधार अझै कमजोर रहेको स्पष्ट पार्ने उनको भनाइ छ।

यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालयका उपनिर्देशक तथा तथ्याङ्क अधिकारी डा. शरदकुमार शर्माले राष्ट्रियस्तरमा ५ दशमलव ११ प्रतिशत बालबालिका कहिल्यै पनि विद्यालय नजाने तथ्याङ्क रहेको जानकारी दिए। उनका अनुसार प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढी १३ दशमलव ६१ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्, जुन राष्ट्रिय औसतभन्दा तीन गुणा बढी हो।

त्यसैगरी लुम्बिनी प्रदेशमा ३ दशमलव ५०, कोशीमा २ दशमलव ८६, कर्णालीमा २ दशमलव ५६, सुदूरपश्चिममा २ दशमलव ५१ र बागमती प्रदेशमा १ दशमलव ६४ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन्। गण्डकी प्रदेशमा भने सबैभन्दा कम १ दशमलव ०२ प्रतिशत बालबालिका मात्र विद्यालयबाहिर रहेको डा. शर्माले बताए।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार