२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधिसभा निर्वाचन २०८२

कर्णालीमा सात उम्मेदवारले लिए उम्मेदवारी फिर्ता



सुर्खेत । कर्णाली प्रदेशमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सात जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा कालिकोटका चार जना, सल्यानका दुई जना र हुम्लाका एक जना रहेका छन्।

कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका केन्द्रीय सदस्य जीवनबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका हुन्। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बमविरुद्ध बागी उम्मेदवारी दिएका भूपेन्द्रजंग शाहीले पनि उम्मेदवारी फिर्ता गरेका छन्।

त्यसैगरी, कालिकोटबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार धर्मराज न्यौपाने र देशभक्त समाजका तर्फबाट उम्मेदवारी दिएका प्रेमसिंह तिरुवाले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सल्यानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिङे कामीले उम्मेदवारी फिर्ता लिएका छन् भने हुम्लामा मितेरी नेपाल पार्टीका उम्मेदवार जयबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

उम्मेदवारी फिर्तापछि सम्बन्धित निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा थप स्पष्ट र केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार