२०८३ साउन १० , आइतबार

उद्घाटन भएको दुई वर्षपछि जुम्लामै डायलसिस सेवा



सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा प्राविधिक जनशक्ति र आवश्यक उपकरण अभावका कारण दुई वर्षदेखि रोकिएका डायलसिस सेवा पुनः सुरु भएको छ । मुगुको खत्याड गाउँपालिका–२ की जीरकला बियारको पहिलो डायलसिस भएको गरेर पुनः सेवा सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।
जनशक्ति र उपकरणहरुको व्यवस्थापन गरिसकिएको प्रतिष्ठानले जनाएको छ । ‘पहिले जनशक्ति, औषधि, उपकरणबीचको तालमेल नहुँदा डायलसिस सेवालाई निरन्तरता चल्न सकेको थिएन’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहप्रध्यापक डा. पुजकुमार रोकायाले ‘अहिले सबै तयारी पूरा भएर सेवा सुरु भएको छ, अब रोकिँदैन ।’ प्रतिष्ठानले डायलसिस गर्न ४ वटा मेसिन तयारी हालतमा रहेका छन् । जसमध्ये दुई मेसिन सञ्चालनमा ल्याएर सेवा प्रदान सञ्चालन गरिएको हो ।
जुम्लामै डालयसिस सेवा पाएपछि महँगो जहाजभाडा तिरेर नेपालगन्ज, काठमाडौंसम्म जानुपर्ने बाध्यता हट्ने भएको छ । सेवा निरन्तर भएको खण्डमा जुम्लासँगै, कालीकोट, मुगु र हुम्लाका डायलसिस विरामीलाई नेपालगञ्ज र काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुने छ ।
यता कर्णाली प्रदेशसहित पश्चिम नेपालका मिर्गौलापीडितले डायलसिसका लागि महँगो खर्च गरेर बाहिर जानु नपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ डाइरेक्टर सविना थापाले डायलसिस सेवाले कर्णालीवासीले राहतको अनुभूति गर्ने बताइन् ।
२०८० भदौ १४ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जुम्लामा डायलसिस सेवाको उद्घाटन गरेका थिए । तर उद्घाटन गरे पनि सेवा सुरु हुन सकिरहेको थिएन । स्वच्छ पानीको पहुँच पर्याप्त रुपमा नपुगेका कारण कर्णालीमा मिर्गौलाका बिरामीको संख्या धेरै भएको चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार