सुर्खेत । बाल अधिकारको क्षेत्रमा क्रियाशील नागरिक समाज संस्थाहरूको सञ्जाल (सिसिआर) कर्णाली प्रदेशले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई अपिल गरेको छ।
निर्वाचन प्रक्रिया सुरु भएसँगै बालबालिकाको दुरुपयोग हुन सक्ने सम्भावना बढेको भन्दै सिसिआरले विज्ञप्तिमार्फत सबै दल र उम्मेदवारलाई सचेत र जिम्मेवार रहन आग्रह गरेको हो। सिसिआर कर्णाली प्रदेश अध्यक्ष टीकाराम आचार्यका अनुसार लोकतान्त्रिक अभ्यासलाई मर्यादित, निष्पक्ष र अधिकारसम्मत बनाउन सबै सरोकारवालाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।
निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद २ अन्तर्गत दफा ४ (ग) र (छ) मा बालबालिकालाई कुनै पनि निर्वाचनसम्बन्धी गतिविधिमा प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरिएको छ। साथै विद्यालय तथा शैक्षिक परिसरलाई राजनीतिक गतिविधि, प्रचारप्रसार वा शक्ति प्रदर्शनका माध्यमका रूपमा प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

तर हालै मनोनयन दर्तालगायत निर्वाचन लक्षित गतिविधिहरूमा १८ वर्षमुनिका बालबालिकाको प्रयोग हुनु गम्भीर चिन्ताको विषय भएको आचार्यले बताए। यस्ता अभ्यासले कानुन, आचारसंहिता तथा बालबालिकासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि–अभिसन्धि र प्रतिबद्धताको उल्लङ्घन गर्नुका साथै बालबालिकाको शारीरिक, मानसिक र नैतिक विकासमा नकारात्मक असर पार्ने उनले स्पष्ट पारे।
यसैले निर्वाचनको सम्पूर्ण प्रक्रियामा १८ वर्षमुनिका बालबालिकाको प्रयोग नगर्न सिसिआरले सबै राजनीतिक दल, दलसम्बद्ध संगठन तथा स्वतन्त्र उम्मेदवारलाई अपिल गरेको छ। साथै बालबालिकाको अधिकार र गरिमालाई केन्द्रमा राखी सुरक्षित, बालमैत्री र जवाफदेही निर्वाचन वातावरण निर्माण गर्न सबैले आ–आफ्नो स्थानबाट योगदान दिन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्