२०८३ वैशाख ६ , आइतबार
कर्णालीका मुख्यमन्त्रीकाे निर्देशन

काम नगर्ने ठेकेदारको ठेक्का तोड्नाेस्



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले समयमा काम नगरी आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का प्रक्रिया मिलाएर तोड्न निर्देशन दिएका छन्। भौतिक योजना तथा शहरी विकास मन्त्रालयको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले जतिसुकै ठूलो पहुँच भए पनि काम नगर्ने ठेकेदारप्रति कडाइ गर्न निर्देशन दिए।

मुख्यमन्त्री कडेलले बजेट हुँदाहुँदै पनि आयोजना अलपत्र परे सरकारप्रति नागरिकको विश्वास घट्ने बताए। सहजीकरण गरेर भए पनि काम सम्पन्न गर्न प्रयास गर्न र त्यसबाट पनि नतिजा नआए नियमअनुसार ठेक्का अन्त्य गर्न उनले मन्त्रालयलाई निर्देशन दिए।

प्रदेश राजधानीभित्रकै सडक आयोजनामा लापरवाही भएपछि पूर्वमन्त्रीसमेत संलग्न ठेक्का तोडिएको उदाहरण दिँदै उनले सरकार पावरबाट नडराउने स्पष्ट पारे। साथै, काम सम्पन्न भइसकेपछि भुक्तानीमा ढिलाइ नगर्न र बोलाएर भए पनि रकम भुक्तानी गर्न निर्देशन दिए।

पुरानै कार्यशैलीबाट नागरिकले खोजेजस्तो नतिजा नआउने भन्दै मुख्यमन्त्री कडेलले कर्मचारीलाई जिम्मेवार भएर काम गर्न आग्रह गरे। नियमविपरीत काममा नेताको दबाबमा नपर्न पनि उनले निर्देशन दिए।

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन बमले केही पुराना आयोजना रुग्ण अवस्थामा रहेको र चालु आर्थिक वर्षमा अधिकांश आयोजना ठेक्का प्रक्रियामा गइसकेको जानकारी दिए।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार