२०८३ वैशाख ६ , आइतबार
एसइइ परीक्षा तालिका

१९ चैतदेखि सुरू हुने २९ गते सकिने



सुर्खेत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको विस्तृत तालिका सार्वजनिक गर्दै परीक्षाको मिति तोकेको हो ।

बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार चैत १९ गते अनिवार्य अंग्रेजी विषयको परीक्षाबाट एसईई सुरु हुनेछ । त्यसपछि चैत २० गते अनिवार्य नेपाली, चैत २२ गते अनिवार्य गणित, चैत २३ गते विज्ञान तथा प्रविधि, र चैत २४ गते सामाजिक अध्ययन विषयको परीक्षा सञ्चालन हुनेछ ।

यसैगरी चैत २५ गते ऐच्छिक प्रथम खण्डअन्तर्गतका सबै विषय तथा चैत २६ गते ऐच्छिक द्वितीय खण्डअन्तर्गतका सबै विषयको परीक्षा लिइने बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते प्राविधिक धारतर्फका बाँकी विषयहरूको परीक्षा सञ्चालन गरिने छ । प्राविधिक धारका परीक्षार्थीहरूको विषयगत प्रकृतिअनुसार छुट्टाछुट्टै तालिका कार्यान्वयन गरिने उनले जानकारी दिए ।

यस वर्ष प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते तोकिएकाले एसईई परीक्षा गत वर्षको तुलनामा १२ दिन ढिलो हुन लागेको हो । निर्वाचनको व्यवस्थापन, सुरक्षासम्बन्धी तयारी तथा परीक्षा केन्द्र व्यवस्थापनमा असर नपरोस् भन्ने उद्देश्यले परीक्षा तालिका परिमार्जन गरिएको बोर्डले जनाएको छ ।

गत वर्षको माध्यमिक शिक्षा परीक्षा भने चैत ७ गतेदेखि सञ्चालन भएको थियो । यस वर्षको परीक्षा ढिलो भए पनि परीक्षाको मर्यादा, अनुशासन र व्यवस्थापनमा कुनै कमजोरी नहुने बोर्डले दाबी गरेको छ ।

बोर्डले परीक्षार्थीहरूलाई परीक्षा अवधिभर समयमै परीक्षा केन्द्रमा उपस्थित हुन, आवश्यक सामग्री साथमा ल्याउन र परीक्षा नियम पूर्णरूपमा पालना गर्न आग्रह गरेको छ । साथै परीक्षा केन्द्र व्यवस्थापन, प्रश्नपत्र सुरक्षा तथा उत्तरपुस्तिका परीक्षण प्रक्रिया प्रभावकारी बनाइने जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार