सुर्खेत । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ बाट गतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट २७ वर्षीय पवन थापा मगर उम्मेदवार बनेका छन् । उनले ‘ब्याट्री’ चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कर्णाली प्रदेशमा सर्वसुलभ, सुरक्षित र न्यायपूर्ण यातायात व्यवस्था तथा सामाजिक न्यायका पक्षमा लामो समयदेखि सडक आन्दोलनमार्फत संघर्ष गर्दै आएका थापा मगरले अब उक्त संघर्षलाई संसदमार्फत अघि बढाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन् ।
‘सडकबाट सुरु गरेको संघर्षले केही मुद्दामा सफलता दिलाएको छ, केहीमा अझै लडाइँ जारी छ,’ थापा मगरले भने, ‘अब यही संघर्षलाई अझ सशक्त, संगठित र परिणाममुखी बनाउन सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको हुँ।’

सार्वजनिक यातायात सुधारका सवालमा कर्णालीदेखि काठमाडौंसम्म निरन्तर आवाज उठाउँदै आएका थापा मगरले माइतीघर मण्डलालाई निषेधित क्षेत्रबाट हटाउनुपर्ने मागसहित पटक–पटक आन्दोलन गरेका थिए । सामाजिक न्याय, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उनी सधैं मुखर रहँदै आएका छन् ।
थापा मगर लेखक, अनुवादक, फिल्म निर्माता तथा सामाजिक–राजनीतिक अभियन्ता समेत हुन् । उनी विभिन्न नागरिक आन्दोलन समूहहरूमा सक्रिय संलग्न रहँदै माइतीघरदेखि कर्णालीसम्मका बेतिथिविरुद्ध आवाज उठाउने अभियन्ताका रूपमा परिचित छन् । यसपटक उनी ती मुद्दाहरूलाई प्रतिनिधिसभामा पुर्याउने उद्देश्यका साथ चुनावी मैदानमा देखिएका छन् ।
सुर्खेत क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट नारायण कोइराला, नेकपा एमालेबाट कुलमणि देवकोटा, नेकपाबाट झक्कबहादुर मल्ल (सुदीप) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश सापकोटा प्रमुख प्रतिस्पर्धी छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट कविराम पुरी, उज्यालो नेपाल पार्टीबाट गम्भीर सिंह भुल, नेमकीपाबाट तुल्छी खड्का, जसपा नेपालबाट दीपबहादुर नेपाली, नेपाल जनसेवा पार्टीबाट हृदेन्द्र अधिकारी र श्रम संस्कृति पार्टीबाट राजेन्द्र अधिकारी उम्मेदवार बनेका छन् ।
यस क्षेत्रबाट रमेश परियार, उदीराम चुनारा र कृष्ण खत्री स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्