२०८३ वैशाख ६ , आइतबार
शान्ति सुरक्षा

कर्णालीका डीआईजी माधवप्रसाद श्रेष्ठको सरुवा



सुर्खेत । नेपाल प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी माधवप्रसाद श्रेष्ठको सरुवा गरेको छ। आईतबार गरिएको सरुवाअनुसार कर्णालीमा कार्यरत डीआईजी श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), लाजिम्पाटमा पठाइएको छ ।
उनको स्थानमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय, नक्सालमा कार्यरत डीआईजी जयराज सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा खटाइएको छ ।


प्रहरी प्रधान कार्यालयले जारी गरेको सरुवा सूचीअनुसार विभिन्न निर्देशनालय तथा प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कर्णाली प्रदेश प्रहरी प्रमुखको हेरफेरलाई लिएर सुरक्षा चुनौती बढ्न सक्ने विश्लेषण गरिएको छ । निर्वाचन अवधिमा प्रदेशको सुरक्षा रणनीति, स्थानीय अवस्था र संवेदनशील क्षेत्रको जानकारी प्रहरी प्रमुखसँग प्रत्यक्ष रूपमा जोडिने विषय हो ।
यस्तो संवेदनशील समयमा नेतृत्व परिवर्तन हुँदा नयाँ प्रहरी प्रमुखलाई अवस्था बुझ्न, सुरक्षा संयन्त्र समन्वय गर्न र रणनीति कार्यान्वयन गर्न समय लाग्ने हुँदा शान्ति सुरक्षामा केही कमजोरी देखिन सक्ने सरोकारवालाको भनाइ छ ।
विशेषगरी भौगोलिक रूपमा विकट कर्णालीमा निर्वाचन सुरक्षा थप चुनौतीपूर्ण हुने भएकाले निरन्तरता र स्थायित्व महत्वपूर्ण मानिन्छ । तर नेपाल प्रहरीको संस्थागत प्रणाली र अनुभवका कारण सुरक्षा व्यवस्थापनमा ठूलो असर नपर्ने दाबीसमेत प्रहरी स्रोतले गरेको छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार