२०८३ वैशाख ६ , आइतबार
किनमेल

चाैकुनेमा संयुक्त बजार अनुगमन



चाैकुने गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा संयुक्त रूपमा बजार अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा वडा नं. ४ जगन्नाथ बजार (बिजौरा) र वडा नं. ८ मिलनचोक–विशाल बजार (गुटु) क्षेत्रमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा म्याद गुज्रेका चाउचाउ, बिस्कुट, कोल्ड ड्रिङ्क्स, चिउरा, दालमोठ, चकलेटलगायतका खाद्य सामग्री तथा लेबलिङ नभएका र गुणस्तरहीन वस्तुहरू फेला परेपछि जफत गरिएको छ।

१४ वटा खाद्यान्न तथा किराना पसल निरीक्षण गरिएको अनुगमनमा जफत गरिएका अखाद्य सामग्रीहरू वडा नं. ८ का वडा अध्यक्ष कमलबहादुर जि.सी.को रोहवरमा नष्ट गरिएको हो। अनुगमन टोलीले व्यवसायीलाई म्याद गुज्रेका तथा अखाद्य वस्तु बिक्री नगर्न कडा निर्देशन दिएको छ। सम्बन्धित निकायले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार