सुर्खेत । स्थानीय कर्मचारी क्रिकेट कप–२०८२ अन्तर्गत शनिबार सुर्खेतको वीरेन्द्रनगर मैदानमा सम्पन्न खेलमा डोल्पालाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै जाजरकोट जिल्ला समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै जाजरकोटले समूह चरणमा दबदबा कायम राखेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको जाजरकोटले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रनको बलियो योगफल बनायो । जाजरकोट टोलीका कप्तान तारा प्रसाद गिरीले कप्तानी पारी खेल्दै ४१ बलमा अविजित ८३ रन बनाए । उनको आक्रामक इनिङ्समा ६ छक्का र ६ चौका समावेश थियो ।
नविन ओलीले ४३ रन जोड्दा जगत उपाध्यायले २२ र बिनोद भान्तनाले १५ रनको योगदान दिए ।
डोल्पाका बलरहरूले प्रयास गरे पनि जाजरकोटको ब्याटिङलाई रोक्न सकेनन् । अपिल क्षेत्री र मनिराम बुढाले समान १–१ विकेट लिए ।
१९८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन मैदानमा उत्रिएको डोल्पा टोली जाजरकोटको कसिलो बलिङ आक्रमणसामु २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमै समेटियो । डोल्पाका लागि अशोक सिंहले ३७ रनको संघर्षपूर्ण पारी खेले भने नबराज शाहीले २५ र मनिराम बुढाले १५ रन जोडे ।

बलिङतर्फ जाजरकोटका खेलाडीहरू प्रभावशाली देखिए । कप्तान गिरीले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए भने बिनोद भान्तनाले २ विकेट लिए । प्रेम शाहीले २ तथा राजेन्द्र बुढाले १ विकेट लिँदै टोलीलाई जिततर्फ डो¥याए ।
ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका जाजरकोटका कप्तान तारा प्रसाद गिरी प्लेयर अफ द म्याच घोषित भए ।
यसअघि बिहीबार कालुञ्चोक क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा जाजरकोटले चिङ्गाड गाउँपालिका, सुर्खेतलाई ८८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा पनि गिरीले विस्फोटक ११३ रनको शतकीय इनिङ्ससहित २ विकेट लिँदै सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए ।
जाजरकोटले आज दिउँसो सेमिफाइनलको खेल समुह डी को विजेतासँग खेल्ने भएको छ । उक्त समूह डी विजेताको लागि कालीकोट र सुर्खेत पश्चिम आज बिहान भिड्नेछन् ।
जाजरकोटका टिम कोच हरी वलीले भने, “खेलाडीहरूको अनुशासन, टिमवर्क र निरन्तर अभ्यासको परिणामस्वरूप यो सफलता हासिल भएको हो । समूह चरणमै विजेता बन्न सक्नु हाम्रो लागि गर्वको विषय हो । आगामी खेलहरूमा अझ जिम्मेवार र उत्कृष्ट प्रदर्शन गर्नेछौँ ।”
यस्तै जाजरकोटका टिम मेनेजर देव बहादुर बुढाका अनुसार यस प्रतियोगिताले कर्मचारीस्तरमा क्रिकेटको विकासमा ठूलो योगदान पु¥याएको छ । उनले आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै प्रतियोगिताको अपेक्षा गरेको बताए ।
१२ टिम सहभागी प्रतियोगिता चार समूहमा विभाजन गरिएको छ । समुह ए मा जाजरकोट सँगै चिङ्गाड गाउँपालिका र डोल्पा रहेका थिए । माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू सुर्खेतका दुई मैदानमा भइरहेको छ ।
स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, कर्णाली प्रदेश समितिको आयोजनामा, स्थानीय तह कर्मचारी युनियन नेपालको सह–आयोजना तथा कर्णाली प्रादेशिक क्रिकेट संघको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको हो । स्थानीय तहमा कार्यरत कर्मचारीहरूबीच क्रिकेटको विकास र खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्