सुर्खेत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले ‘ग्रेन एटिएम’ (अन्न वितरक मेसिन) प्रयाेगमा ल्याएकाे छ । एटिएम जस्तै पूर्ण रूपमा स्वचालित यो मेसिनबाट उपभोक्ताले न्यूनतम १ किलोदेखि अधिकतम २० किलोसम्म चामल खरिद गर्न सक्ने छन्। मेसिनमा नाम, ठेगाना र मोबाइल नम्बर प्रविष्ट गरी चामलको परिमाण छनोट गरेपछि ‘डायनामिक क्युआर कोड’ देखिन्छ। मोबाइल बैङ्किङमार्फत क्युआर स्क्यान गरी भुक्तानी गरेपछि मेसिनको तल्लो भागबाट तोकिएको परिमाणमा चामल झर्ने व्यवस्था गरिएको छ।

काठमाडौँको थापाथलीस्थित बिक्री केन्द्रमा सफल परीक्षण भएपछि कर्णाली प्रदेशको सुर्खेतमा पनि यो प्रविधि सञ्चालनको अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख केशवराज बुढाले जानकारी दिए। यो प्रणालीबाट कार्यालय समय कुर्नुपर्ने, लाइन बस्नुपर्ने र कर्मचारीलाई खाद्यान्न उपलब्धता सोधिरहनुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ। नयाँ प्रविधि भएकाले सुरुवाती चरणमा ग्राहकलाई सहजीकरण गर्न कर्मचारीसमेत खटाइने बताइएको छ। आवश्यक परे एक पटकभन्दा बढी पटक खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ।
काठमाडौँपछि ‘ग्रेन एटिएम’ सञ्चालन गर्ने कर्णाली दोस्रो प्रदेश बनेको छ। सुरुमा दुई प्रकारका खाद्यान्न मात्र बिक्री गरिने जनाइएको छ। बढ्दो प्रविधिको प्रयोगसँगै कर्णालीका उपभोक्तालाई खाद्यान्न खरिदमा सहजता हुने अपेक्षा गरिएको छ।
यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले सुर्खेतमै अन्न प्रशोधनका लागि मिल स्थापना गर्ने तयारी पनि थालेको छ। मिल स्थापना भएपछि लेभलिङ, छान्ने र भण्डारणको काम कर्णालीमै हुने छ। हाल बर्दिया, नेपालगन्ज र वीरगन्जबाट खाद्यान्न ल्याइँदै आएकोमा अब स्थानीय रूपमा प्रशोधन र बिक्री हुने हुँदा रोजगारी सिर्जना हुने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्