सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष सहभागी गराउने ऐतिहासिक निर्णय गरेको छ । गुराँस गाउँ सभाको १७ औँ हिउँदे अधिवेशनमा राउटे समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित पेस गरिएको सार्वजनिक महत्त्वको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो ।
गाउँपालिका सरकारका प्रवक्ता तथा वडा नम्बर ८ का वडाध्यक्ष दीपेन्द्रबहादुर ओलीले सभामा प्रस्ताव पेस गर्नुभएको थियो । पारित प्रस्तावअनुसार राउटे समुदायका लागि गुराँस गाउँपालिका–९ नामक गैर–भौगोलिक विशेष वडा गठन गरिने व्यवस्था गरिएको छ ।

उक्त विशेष वडामा राउटे समुदायबाट तीन जना वडा सदस्य र एक जना वडाध्यक्ष निर्वाचित हुनेछन् । साथै, स्थानीय तहमा राउटे समुदायबाट पहिलो पटक महिला सदस्य चयन गरिने व्यवस्था प्रस्तावमा समेटिएको छ, जसले समावेशी र समानुपातिक प्रतिनिधित्वलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।
प्रस्तावमा राउटे समुदायलाई नागरिकता, मताधिकार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । यसका साथै उनीहरूको संस्कार, संस्कृति, भाषा तथा परम्परागत जीवनशैलीको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
गाउँपालिकाले राउटे समुदायको विशिष्ट पहिचान र जीवनशैलीलाई सम्मान गर्दै उनीहरूलाई राज्यका सेवा–सुविधामा समान पहुँच दिलाउन यो व्यवस्था आवश्यक रहेको ठहर गरेको छ । स्थानीय सरकारले यस निर्णयलाई नेपालमै लोपोन्मुख समुदायको अधिकार सुनिश्चिततर्फको उदाहरणीय अभ्यासका रूपमा लिएको जनाएको छ ।
गुराँस गाउँ सभाबाट पारित उक्त प्रस्तावलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारमा सिफारिस गरिने जनाइएको छ । सङ्घीय तहबाट स्वीकृति प्राप्त भएमा राउटे समुदायको स्थानीय शासनमा प्रत्यक्ष सहभागिता सुनिश्चित हुने र उनीहरूको आवाज नीति निर्माण तहसम्म पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्