२०८३ वैशाख ६ , आइतबार

को बन्ला सुर्खेत क्षेत्र नं. २ काँग्रेको उम्मेद्वार ?



सुर्खेत । सुर्खेत क्षेत्र नं. २ मा काँग्रेसका सदाबहार उम्मेद्वार हृदयराम थानीले आगामी प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गरेसँगै नयाँ उम्मेद्वारको खोजी सुरु भएको छ । थानीले विहीबार मात्रै स्वास्थ्यको कारण देखाउँदै आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेका हुन् । थानीको यो घोषणासँगै नयाँ उम्मेद्वारको चर्चा सुरु भएको हो ।

अहिलेको अवस्थामा थानीपछिको नेता एकीन छैन भने भर्खर काँग्रेस उन्मूख छ । थानीको लाइनमा रहेका दोस्रो तहमा कलमराज रेग्मी, उपेन्द्रबहादुर थापा र नारायण कोइराला थिए । तर काँग्रेसको विशेष महाधिवेशनमा गएका यी सबै नेताहरुले अब कुन समूहमा लाग्ने भनेर घोषणा गरिसकेका छैनन् । यी सबै नेताहरु गगनकुमार थापा समूहमा लागेको खण्डमा थानी एक्लै पर्ने सम्भावना छ ।

लामो समय काँग्रेस नेता पूर्णबहादुर खड्काको लाइनमा रहेका जानकी सिंह र तिर्थजंगा शाही पनि सुर्खेत क्षेत्र नं. २ कै नेताहरु हुन् । तर यी नेताहरु गगन समूहबाट केन्द्रीय सदस्य बनिसकेका छन् । खड्काका सहोदर भाइ विष्णुबहादुर खड्का, खड्का टिमकै उपेन्द्र खड्का र टोपबहादुर रावत लगायतका नेताहरु चुनावी दौडमा थिइनन् ।


२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले थानीसहित उपेन्द्र बहादुर थापा, कलम बहादुर खत्री, नारायण कोईराला, भिष्मराज हमाल र बसन्ती कुमारी बस्नेतलाई सिफारिस गरेको थियो ।
यदि थानी चुनाव लडेनन्, फागुनै निर्वाचन भयो र कानुनी रुपमै काँग्रेस दुई टुक्रा बन्यो सुर्खेत क्षेत्र नं. २ मा काँग्रेसले नयाँ अनुहार अघि सार्नुपर्ने देखिन्छ । यदि पार्टी एक भएको खण्डमा भने उम्मेद्वार सिफारिस भएका कलमबहादुर खत्री, नारायण कोईराला, भिष्मराज हमाल र बसन्ती कुमारी बस्नेतमध्ये एक जना उम्मेद्वार बन्ने छन् । यी मध्ये कोइराला नै चर्चामा आएका नेता हुन् ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार