सुर्खेत । सुर्खेतमा बिहीबारदेखि दोस्रो प्रादेशिक मह महोत्सव सुरु भएको छ । चौथो राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशको आयोजनामा मह महोत्सव सञ्चालन गरिएको हो ।
महोत्सवमा कर्णालीका विभिन्न जिल्लाबाट आएका किसानहरूले उत्पादन गरेका मह तथा रैथाने कृषि वस्तुहरूका ५० वटा स्टल राखिएका छन् । महोत्सवले कर्णालीमा उत्पादन हुने मह र स्थानीय बालीको प्रवद्र्धन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जैविक विविधता संरक्षण आजको आवश्यकता भएको बताएका छन् । उनले मानव क्रियाकलापका कारण जैविक विविधतामा गम्भीर असर परिरहेको उल्लेख गर्दै यसको संरक्षणमा सबै नागरिक लाग्नुपर्नेमा जोड दिए । मन्त्री शाहले विषादी र रासायनिक मलको जथाभावी प्रयोगका कारण मौरी संकटमा पर्दै गएको बताए । मौरीको जीवन जोखिममा परे मानव अस्तित्वसमेत खतरामा पर्ने भन्दै उनले मौरी संरक्षण अपरिहार्य भएको स्पष्ट पारे। कर्णाली प्रदेश सरकारले कृषि विकास रणनीति तयार पारेको र त्यसमा पर्यावरणमैत्री कृषिलाई प्राथमिकता दिइएको जानकारी पनि उनले दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव संजिवकुमार कर्णले रैथाने उत्पादनले पोषण सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउनुका साथै खाद्य असुरक्षा घटाउन सहयोग गर्ने बताए । जलवायु परिवर्तनको असर बढ्दै गएको अवस्थामा रैथाने बालीमा सहनशील क्षमता बढी हुने भएकाले यस्ता बालीको संरक्षण आवश्यक रहेको उनको भनाइ थियो ।
कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायले मानिस र मौरीबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै मौरीको संरक्षण बिना दिगो कृषि सम्भव नहुने बताए । सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र ढकालले किसानहरूले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि सरकारले थप सहयोग गर्नुपर्ने धारणा राखे ।
लिवर्डका कर्णाली प्रदेश संयोजक कृष्ण लम्सालले कर्णाली प्रदेशमा भौगोलिक विकटता, जलवायु परिवर्तन, सीमित बजार पहुँच र आधुनिक कृषि प्रणालीको दबाबका कारण स्थानीय बाली तथा परागसेचक जोखिममा परेको बताए । उनले संरक्षणका लागि सरकार, संघ–संस्था, निजी क्षेत्र र कृषकबीच सहकार्य आवश्यक रहेको औँल्याए ।
महोत्सवको सह–आयोजनामा कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलगायत विभिन्न संघ–संस्थाहरू रहेका छन् । इन इलम परियोजना, हेल्भेटास नेपाल महोत्सवको प्रवद्र्धक रहेका छन् ।
नेपाल मौरीपालक महासंघका अनुसार कर्णाली प्रदेशमा करिब १२ हजार घारमा मौरीपालनहुँदै आएको छ । महोत्सवले मह तथा रैथाने बालीको बजारीकरणमा सहयोग पुग्नुका साथै मौरीपालक किसानहरूमा उत्साह थपिने अपेक्षा गरिएको मौरी पालक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले बताए ।
आयोजकका अनुसार तीन गतेसम्म सञ्चालन हुने महोत्सवमा कर्णालीका दशै जिल्लामा उत्पादन भएको मह एकै ठाउँमा अवलोकन तथा किनबेच गर्न सकिनेछ। साथै मौरीपालनसम्बन्धी जानकारी तथा प्रविधि, रैथाने बीउ, तरकारी तथा अन्न बालीको अध्ययन–अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ । कृषिसँग सम्बन्धित पुराना औजार तथा सामग्रीहरूको प्रदर्शनी पनि महोत्सवको आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्