सुर्खेत । गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसको पक्षमा कर्णाली प्रदेशबाट सहमहामन्त्रीसहित ६ जना केन्द्रीय सदस्य चयन भएका छन् । पिछडिएको क्षेत्रबाट डोल्पाका कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयनहुँदा सुर्खेतका जानकी सिंह र तिर्थजंग शाही, जुम्लाकी रमादेवी खड्का, दैलेखका दिक्पाल शाही, कालीकोटका नारायणप्रसाद भट्टराई र जाजरकोटका दिपकजंग शाह केन्द्रीय सदस्यमा चयन भएका छन् । सहमहामन्त्री बुढा काँग्रेसको चौधौँ महाधिवेशबाट हृदयराम थानीलाई एक मतले हराउँदै केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यमा चयन भएकी सिंह कर्णाली प्रदेशसभा सदस्य समेत हुन् । उनी यसअघि पनि काँग्रेसको केन्द्रीय सदस्य नै थिइन् ।
विशेष महाधिवेशनले थापाको नेतृत्वमा कार्यसमिति चयन गर्दा कर्णाली काँग्रेसका प्रभावशाली नेताहरु, बहुमत जिल्ला सभापतिहरु र प्रदेशसभा सदस्य भने थापाको पक्षमा उभिएका छैनन् । काँग्रेसका १५ सदस्य प्रदेशसभा सदस्यमध्ये सिंहमात्रै थापाको पक्षमा खुलेकी छन् । प्रदेशसभापतिसहित जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत र रुकुमपश्चिम गरी ८ जिल्ला सभापतिहरु पार्टी बिभाजनमा नजानेभन्दै शेरबहादुर देउवाको पक्षमा उभिएका छन् । यसअघि विशेष महाधिवशेनको पक्षमा उभिएका कालीकोट जिल्लासभापति अम्मबहादुर शाही देउवाकै पक्षमा उभिएका छन् ।
प्रतिक्रिया दिनुहोस्