२०८३ वैशाख ६ , आइतबार

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु



सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ। वीरेन्द्रनगरको फोरलेन सडकखण्डअन्तर्गत पुरानो वडा कार्यालय अगाडि पिपिरा चोकबाट धुलायबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले पैदल यात्री ७० वर्षीय लक्ष्मी लामिछानेलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका लामिछानेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालक लेखबेशी नगरपालिका–३ निवासी २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार