सुर्खेत । भदाै २४ मा भएको जेन्जी आन्दोलनले ध्वस्त बनाएको नेपाली कांग्रेस सुर्खेतकाे पार्टी कार्यालय पुनर्निर्माण भएको छ । पार्टी कार्यालय ध्वस्त भएको झण्डै चार महिनापछि मर्मत र रंगरोगन गरेर पार्टी कार्यालयलाई पुरानै अवस्थामा पुनर्निर्माण गरिएको हाे ।
कांग्रेसले शुभेच्छुक व्यक्ति तथा संघसंस्थाबाट सहयोग संकलन गरेर पार्टी कार्यालय पुनर्निर्माण गरेको हाे । पार्टी कार्यालयकाे पुनर्निर्माणका लागि कांग्रेसले सुर्खेत जिल्ला कार्यसमितिका सचिव श्याम भारतीकाे संयाेजकत्वमा कमिटी बनाएकाे थियो ।

पार्टी कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि कांग्रेस सुर्खेतका नेता कार्यकर्ताहरूले खुशीका साथ पार्टी कार्यालयकाे तस्बिर शेयर गर्दै सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् । तर पुनर्निर्माण गर्दा कांग्रेसले पार्टीकाे नाम र चुनाव चिन्ह रूखकाे आकृतिमा गम्भीर गल्ती गरेकाे छ ।
नेपाली कांग्रेस हुनुपर्नेमा काँग्रेस लेखेकाे छ भने पार्टीकाे चुनाव चिन्ह रूककाे आकृति (चित्र बनावट) पनि फरक फारिएकाे छ । कांग्रेस र काँग्रेसमा तात्विक फरक नभए पनि पार्टीले कांग्रेस शब्दलाई नै आधिकारिक रूपमा प्रयोग गर्दै आएको छ । शब्द फरक पर्दा त्यति ठूलाे फरक अर्थ नलागेपनि कांग्रेस जस्तो देशकाे जिम्मेवार पार्टीले केन्द्रीय कमिटी र विधानमा भन्दा फरक शब्द प्रयाेग गर्नु हितकार मानिदैन ।
प्रतिक्रिया दिनुहोस्