२०८३ वैशाख ६ , आइतबार

राउतेले पाए तीन महिनाको भत्ता



सुर्खेत । राउटे समुदायले पछिल्लो तीन महिनाको सामाजिक सुरक्षा भत्ता पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाले राउटे बस्तिमै पुगेर भत्ता वितरण गरेको हो । हाल राउटे समुदायका १ सय ३७ जना सदस्यहरु छन् । उनीहरुलाई सबैलाई मासिक चार हजारका दरले प्रतिव्यक्ति १२ हजार रुपैयाँ वितरण गरिएको हो । लोपोन्मुख राउटे समुदायको घुमन्ते जीवनशैली र बसाइँसराइको अवस्थालाई ध्यानमा राख्दै बस्तिमै पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष टोपबहादुर विसीले बताए ।

‘सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा सुविधाबाट कोही पनि बञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘राउटे समुदायको जीवनयापन सहज बनाउन भत्ता समयमै उपलब्ध गराउने प्रयास गरेका छौं ।’

गाउँपालिकाका अनुसार केही दिनअघि राउटे समुदायका प्रतिनिधिले माघे सङ्क्रान्ति (माघ तिहार) मनाउन आर्थिक आवश्यक परेको भन्दै फोनमार्फत जानकारी गराएका थिए । त्यसपछि आवश्यक तयारी पूरा गरी गाउँपालिकाको टोली स्वयं बस्तिमा पुगेर भत्ता वितरण गरिएको हो ।

भत्ता प्राप्त गरेपछि राउटे समुदायका अगुवाहरूले दैनिक जीवनयापन तथा चाडपर्व मनाउन सहज भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले समयमै भत्ता उपलब्ध गराएकोमा गाउँपालिका र जनप्रतिनिधिप्रति धन्यवाद व्यक्त गरेका छन् ।

हाल राउटे समुदाय सुर्खेतको लेकवेशी क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएको छ । परम्परागत घुमन्ते जीवनशैली अपनाउँदै आएको यस समुदायलाई राज्यले लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत गरेको छ । संघीय सरकार र स्थानीय तहले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा तथा संरक्षणसम्बन्धी कार्यक्रममार्फत राउटे समुदायको जीवनस्तर सुधारका लागि विभिन्न प्रयास गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार