२०८३ वैशाख ६ , आइतबार
जातीय विभेदको जालो तोड्न कस्सीए धर्मगुरु

हिंसाविरुद्ध एकजुट भएर व्यवहारमै परिवर्तन गर्ने प्रतिबद्धता



सुर्खेत । सुर्खेतमा पछिल्ला वर्षहरूमा चेतनाको स्तर बढे पनि जातीय विभेद र छुवाछुत पूर्ण रूपमा अन्त्य भइसकेको छैन । ग्रामीण भेगमा अझै पनि दलित समुदायलाई मन्दिर प्रवेश, सार्वजनिक धारा, भोजभतेर तथा सामाजिक मेलमिलापमा अवरोध गरिने गुनासोहरू आइरहेका छन् ।
मानव अधिकार संस्था र प्रहरीको तथ्याङ्क अनुसार प्रत्येक वर्ष जातीय विभेदसम्बन्धी उजुरी दर्ता हुने क्रम जारी छ । विशेषगरी अन्तरजातीय विवाह, सार्वजनिक स्थान प्रयोग र लैङ्गिक हिंसासँग जोडिएका घटनामा विभेदका स्वरूप देखिने गरेका छन् । कतिपय घटना सामाजिक दबाबका कारण मिलापत्रमै सीमित हुने गरेका छन् ।
स्थानीय तह, नागरिक समाज र सञ्चार माध्यमले निरन्तर आवाज उठाइरहे पनि व्यवहारगत परिवर्तन अपेक्षाअनुसार हुन सकेको छैन । यही समस्याको अन्त्यका लागि सुर्खेतका विभिन्न धर्मगुरुहरूले समाजमा सामाजिक अपराधका रूपमा रहेका जातीय विभेद, छुवाछुत र लैङ्गिक हिंसाविरुद्ध सामूहिक रूपमा अग्रसर हुने सहमति जनाएका छन् ।
दलित महिला सङ्घ सुर्खेतको आयोजनामा भएको अन्तरधार्मिक संवाद कार्यक्रममा सहभागी धर्मगुरुहरूले कुनै पनि धर्मग्रन्थले विभेद, छुवाछुत वा हिंसालाई मान्यता नदिएको स्पष्ट पारे । उनीहरूले संस्कारका नाममा मौलाउँदै आएका कुसंस्कारलाई परिवर्तन गर्न आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
मुस्लिम धर्मगुरु मौलाना बसिर चतुर्वेदीले मुस्लिम धर्ममा विभिन्न समुदाय भए पनि जातकै आधारमा छुवाछुत र विभेदको अभ्यास नरहेको दाबी गरे । तिमीहरूबीच जुनसुकै समुदायका भए पनि मूल पहिचान ‘मुस्लिम’ हुने भएकाले सबै एकै ठाउँमा बसेर खाने, काम गर्ने र प्रार्थना गर्ने परम्परा रहेको उनले बताए । धर्मग्रन्थमै विभेद नलेखिएको उल्लेख गर्दै उनले समाजमा देखिएका विकृतिलाई हटाउनुपर्नेमा जोड दिए । सबै जातजातिलाई धर्म र नैतिकताबारे समान शिक्षा दिइएको भए आज यस्तो विभेदको अवस्था नआउने उनको भनाइ थियो ।


इसाई धर्मगुरु पास्टर प्रेमबहादुर नेपालीले इसाई धर्ममा सबै मानिस समान रूपमा जन्मिने भएकाले कुनै किसिमको जातीय वा लैङ्गिक विभेदको स्थान नरहेको जिकिर गरे । उनले मानवता र प्रेम नै धर्मको मूल सन्देश भएको बताए ।
विश्व हिन्दु परिषद् सुर्खेतका अध्यक्ष परमानन्द रेग्मीले चेतनाको कमी र अशिक्षाका कारण समाजमा छुवाछुत र विभेद मौलाउँदै आएको बताए । तिमीहरूलाई समाज सञ्चालनका क्रममा कामका आधारमा गरिएको जात विभाजन पछि गएर विभेदमा रूपान्तरित भएको उल्लेख गर्दै उनले यस्तो कुसंस्कार हटाउन सचेतना आवश्यक रहेको बताए ।
देउतीबज्यै मन्दिरका पुजारी जनकबहादुर राजीले विगतको तुलनामा अहिले छुवाछुत र विभेदमा केही कमी आएको अनुभव सुनाए । तर अझै पनि सोच र व्यवहारमा पूर्ण परिवर्तन आउन नसकेको उनको भनाइ थियो ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले छुवाछुत र विभेद अन्त्यका लागि धर्मगुरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए । तिमीहरूकै मुखबाट समानताको सन्देश फैलिन सके समाजमा सकारात्मक रूपान्तरण सम्भव हुने उनको भनाइ थियो ।
राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका उपसचिव मानबहादुर कार्कीले जातीय विभेद र छुवाछुत सामाजिक अपराध भएकाले कानुनी रूपमा दण्डनीय रहेको स्मरण गराए । तिमीहरूले आ–आफ्ना धर्मावलम्बीलाई यसबारे सचेत गराउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार