सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र, झन्झटिलो कानुनी संरचना र कार्यशैली यथावत् रहिरहेसम्म नागरिकका अपेक्षा पुरा गर्न नसकिने स्वीकार गरेका छन्।
राष्ट्रिय सतर्कता केन्द्रद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित भ्रष्टाचारविरुद्ध तथा प्राविधिक परीक्षण अन्तरनिकाय समन्वय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासन, कानुनी जटिलता र काम गर्ने ढाँचाकै कारण विकास निर्माणमा ढिलासुस्ती हुने गरेको बताए।
भ्रष्टाचार र सुशासनका विषयमा कर्मचारीतन्त्रको भूमिकामाथि प्रश्न उठाउँदै उनले भने, “तपाईंहरू स्थायी कर्मचारी हुनुहुन्छ, प्रश्न कम उठ्छ। कहिलेकाहीँ आउने हामी जनप्रतिनिधिमाथि भने बढी प्रश्न उठ्छ। कर्मचारीको संलग्नता बिना रकम तलमाथि कसरी हुन्छ ? तपाईंहरूको सहि बिना कुनै पनि काम अघि बढ्दैन।”

मुख्यमन्त्री कँडेलले कर्मचारीहरू दबाब, प्रभाव र प्रलोभनमा परेर निर्णय गर्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गर्दै निर्भिक रूपमा सुधारको काममा अघि बढ्न अनुरोध गरे। “सुधारका काममा तपाईंहरू अघि बढ्नुभयो भने मेरो पूर्ण सहयोग रहनेछ,” उनले स्पष्ट गरे।
कानुनले ‘गर्नु हुँदैन’ भनेका विषय व्यवहारमा कार्यान्वयन नहुने गरेको उल्लेख गर्दै उनले भने, “देखाउनलाई हामी प्रमुख हौं, व्यवहारमा भने अनुरोध गर्ने अवस्थामा छौं।” उनका अनुसार भ्रष्टाचार रकममा मात्र सीमित छैन, ढिलासुस्ती, गैरजिम्मेवारी र काम नगर्ने प्रवृत्ति पनि भ्रष्टाचारकै रूप हुन्।
समयमै काम नगर्ने, कार्यालय समयमा नआउने र जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिलाई पनि भ्रष्टाचारको दायराभित्र ल्याउनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ। गरिब मुलुकमा बजेट छुट्याइएका आयोजना १०–१५–२० वर्षसम्म पनि सम्पन्न नहुँदा नागरिकले दुःख पाइरहेको उनले बताए।
सबै क्षेत्रका मानिसलाई एउटै दृष्टिले हेर्न नहुने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले राम्रो काम गर्नेलाई प्रोत्साहन र गलत गर्नेविरुद्ध कडाइका साथ कारबाही गर्नुपर्ने बताए। “तर्साएर मात्रै भ्रष्टाचार नियन्त्रण हुँदैन,” उनले भने।
देशकै सबैभन्दा बढी राजस्व उठाउने मालपोत कार्यालय चुहिने घरमा सञ्चालन हुनुपर्ने तर अनुगमन गर्ने निकाय भने चिटिक्कका भवनमा बस्ने अवस्थाप्रति उनले प्रश्न उठाए। कर्मचारीहरूमा मन नपरेको कामलाई ‘हुँदैन, गर्न सकिँदैन’ भन्दै टार्ने प्रवृत्ति रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले भने, “मन मिले सबै कानुनसम्मत हुन्छ, मन फाटे सबै कानुनविपरीत हुन्छ।”
प्रतिक्रिया दिनुहोस्