
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशबाट मीना सिंह रखाललाई राष्ट्रिय सभाको उम्मेद्वार बनाएको छ । उनी कर्णालीमा महिला कलस्टर उम्मेद्वार बनेकी हुन् । यसअघि पनि महिला कलस्टरमा एमालेका सुमित्रा विसी राष्ट्रिय सभा सदस्य बनेकी थिइन् ।
रखाल ०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेश सभा सदस्य बनेकी थिइन् । दैलेककी रखाल केही समयअघि सम्पन्न एमाले ११ औँ महाधिवेशनमा केपी ओली समूहबाट केन्द्रीय सदस्य बेनकी हुन् । प्रदेशसभाबाट सिधै राष्ट्रिय सभामा पुग्ने रखाल पहिलो प्रतिनिधि समेत हुनेछिन् । विक्रमसम्मत २०१९ साल फागुन १२ गते आमा ढाकाकुमारी र बुवा कृष्णविर सिंहबाट दैलेखको नारायण नगरपालिका ९ राजपानी टोल साँडुमा जन्मिएकी रखालले कक्षा दशसम्म अध्ययन गरेकी छन् ।
राष्ट्रियसभाका लागि देशभर एमाले र काँग्रेसको संयुक्त गठबन्धन छ । जसले गर्दा रखाल विजयी हुने निश्चित जस्तै भएको छ । राष्ट्रियसभाका लागि काँग्रेस एमाले सहित नेकपालाई तालमेल गर्ने तयारी छ । यद्यपी यसको टुंगो लाग्ने सकेको छैन । कर्णाली प्रदेशमा ५ हजार १२२ मतधारमध्ये कांग्रेसको १ हजार ८९७, एमालेको १२१४ छ र नेपाली कम्युनिस्ट पार्टी नेकपाको मतभार संख्या १ हजार ९३९ छ । जसमध्ये ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र राप्रपाका १ सांसद छन् भने ७९ स्थानीय तहमध्ये कांग्रेसका स्थानीय तह प्रमुख, उपप्रमुखहरुको संख्या ५८, एमालेका ३५ वटा प्रमुख तथा उपप्रमुख र नेकपाका ६३ प्रमुख उपप्रमुख छन् ।राष्ट्रिय सभाका लागि कर्णालीमा दुई पदका लागि निर्वाचन हुँदैछ । जसमा एमालेका सुमित्रा विसी र तत्कालीन माओवादीका मायाप्रसाद शर्माको पदावधि सकिदै छ । सोही पदका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो । निर्वाचका लागि आज (बुधबार) मनोनय दर्ता गर्न कार्यतालिका छ । यसपालि कर्णालीबाट काँग्रेसले राष्ट्रिय सभामा दाबी गरेको छ । सोही कारण माओवादीले राष्ट्रिय सभामा कर्णालीबाट एक पद गुमाउने छ ।
प्रतिक्रिया दिनुहोस्