२०८३ वैशाख ६ , आइतबार
वर्षेनि बढ्दैछन् परिवार नियोजनको सेवाग्राही

सुर्खेतमा २७ हजार पुगे, एकै वर्षमा वितरण भयाे एक लाख १९ हजार कन्डम



सुर्खेत । पछिल्लो समय सुर्खेतमा परिवार नियोजनका सेवाग्राहीहरु बढ्दै गएका छन् । नागरिकहरु अनिच्छित गर्भधारण, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन् अधिकारप्रति सचेत भएपछि सेवाग्राहीको संख्या बढ्न थालेको हो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत तथ्याङ्क अनुसार पछिल्लो साढे दुई वर्षको अवधिमा गरेर जिल्लाभर २७ हजार बढी परिवार नियोजनका सेवाग्राहीहरु पुगेका छन् । आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म परिवार नियोजनका कुल सेवाग्राही २७ हजार ६ सय ८७ जना पुगेका छन् ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९/८० मा नयाँ सेवाग्राहीहरु परिवार नियोजनका सेवाग्राहीहरु १८ हजार चार सय १८ जना थिए । तर आर्थिक वर्ष ०८०/०८१ मा सेवाग्राहीको संख्या बृद्धि भएर २२ हजार २५३ जना पुगेको छ । यस्तै चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सेवाग्राहीको संख्या बढेर २७ हजार ६८७ पुगेको छ । कुल सेवाग्राहीमध्ये ७ हजार सात सय ९१ जना नयाँ सेवाग्राही थपिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले जानकारी दिइन ।

परिवार नियोजनको सेवा प्रदान गर्दै आएको नेपाल परिवार नियोजन संघ सुर्खेतले केही दिनअघि आयोजना गरेको निःशुल्क प्रजन्न स्वास्थ्य शिविरका सहभागीहरु ।

सुरक्षित यौन सम्बन्ध राख्न र अनिच्छित गर्भधारण रोक्न कर्णाली प्रदेशमा एकै वर्षमा एक लाख बढी कन्डम वितरण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गएको आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशभर कुल एक लाख १९ हजार थान कण्डम वितरण भएको निर्देशनालयका सूचना अधिकारी पदम केसीले जानकारी दिए ।
यस्तै प्रदेशमा पिल्स ७ हजार ३११, डिपो २९ हजार १५५, साइना प्रेस ३३ सय ९८, आइयुसिडी४ हजार ९२५ र इम्प्लान्ट ३७ हजार ४४३ जनाले प्रयोग गरिएका छन् ।
जसमध्ये नेपाल परिवार नियोजन संघ सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ मा सुर्खेतमा मात्रै ४२ हजार ५०४ पिस कन्डम वितरण गरिएको छ । परिवार नियोजन अन्तरगत संघले एक हजार ४० डोज, इम्प्लान्ट १५४ जना, आइयुसिडी १५ जना, सुरक्षित गर्भपतन सेवा १३५ जना, डिपो ७८१ भाइल सेवा दिएको संघका सुर्खेत प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए ।
यस्तै पिल्स सेवा ८ हजार ७४७ साइकल, साइना प्रेस ६४ भायल, यौनरोग परीक्षण सेवा एक हजार ८५ जना, गर्भावस्था जाँच ३६४ जना र इसी ३० साइकल सेवा दिइएको उनले बताए ।

प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार