२०८३ वैशाख ६ , आइतबार
दीर्घरोगीको सारथी बन्दै वीरेन्द्रनगर

२ सय ३३ जनालाई दियो एक करोड २७ लाख उपचार खर्च



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले दीर्घरोगीको उपचारमा ठूलो सहयोग गरेको छ । पालिकामा रहेका दीर्घरोगीको उपचारका लागि नगरपालिकाले मासिक रुपमा उपचार खर्च दिने थालेको हो । नगरपालिकाले दीर्घरोगीका क्यान्सर, डायलासिस, मिर्गौला प्रत्यारोपण तथा मेरुदण्ड पक्षाघातजस्ता दीर्घरोगीलाई मासिक उपचार खर्च दिने गरेको छ ।
गएको आर्थिक वर्षमा मात्र २३३ जनालाई दीर्घरोगीलाइ एक करोड २७ लाख रुपैयाँभन्दा बढी रकम दिएको छ । यो रकम दीर्घरोगीका लागि औषधि तथा उपचार खर्चका लागि मासिक उपचार सहयोग प्रदान गरिएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरभित्र उपचार गर्न नसक्ने दीर्घरोगीलाई कार्यविधि बमोजिम मासिक पाँच हजार रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराइँदै आएको छ । स्वास्थ्य शाखा संयोजक भूपेन्द्रदेव गिरीले मासिक पाँच हजारका दरले २३३ दीर्घरोगीलाई जम्मा एक करोड २७ लाख रुपैयाँ सहयोग प्रदान गरिएको जानकारी दिए ।


यसैगरी, नगरपालिकाले विपन्न नागरिकको उपचार सहज बनाउन १८० जनालाई औषधि उपचारका लागि सिफारिस गरेको छ । विपन्नले नगरपालिकामा उपचार सहयोगका लागि सिफारिस माग गरेपछि कार्यविधि अनुसार उनीहरूलाई सिफारिस दिइएको स्वास्थ्य शाखाले जनाएको छ । सो सिफारिसका आधारमा सेवाग्राहीले आफूले चाहेको स्वास्थ्य संस्थाबाट एक लाख रुपैयाँसम्मको उपचार सहयोग प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
दीर्घरोगकै रूपमा रहेको सिकलसेल एनिमिया, विशेषगरी थारू समुदायमा देखिने भएकाले यसको परीक्षण र उपचारलाई प्राथमिकतामा राखिएको छ । वीरेन्द्रनगर नगरपालिकाले २० लाख रुपैयाँको लागतमा सिकलसेल एनिमिया परीक्षण गर्ने मेसिन खरिद गरी सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रदान गरेको छ । साथै, प्रत्येक वर्ष परीक्षण किट खरिदका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको संयोजक गिरीले बताए । उनका अनुसार यस वर्ष पनि थारू समुदायमा सिकलसेल एनिमियाको परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगरप्रमुख नीलकण्ठ खनालले विगतमा विपन्नका नाममा दिइने उपचार सहयोगमा दुरुपयोग भएको गुनासो आएपछि अहिले नगरपालिकाले वास्तविक विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको बताए । यसले उपचार खर्च पारदर्शी हुनुका साथै वास्तविक लक्षित वर्ग लाभान्वित हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार