२०८३ वैशाख ६ , आइतबार
भेरी पम्पिङ्ग आयोजना

हालसम्म जम्मा १३ प्रतिशत मात्रै काम सकियो



सुर्खेत । सुर्खेतमा निर्माणाधिन भेरी लिफ्ट खानेपानी आयोजनाको काम हालसम्म १३ प्रतिशत मात्रै सकिएको छ । तीन चरणमा काम हुने यो आयोजना अन्तरगत पहिलो चरणकोे मात्रै काम सकिने चरणमा पुगेको छ । पहिलो चरणको काम लगभग लगभग अन्तिम चरणमा पुगेको आयोजनाका कन्सल्टेन्ट प्रमुख रमेश अधिकारीले जानकारी दिए ।
पहिलो चरण अन्तरगत कुल ३५ किलोमिटर मध्ये करिव १६ किलोमिटर पाइलाइन विस्तार भएको छ ।
त्यस्तै नदीदेखि ७ किलोमिटर दुरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माणको काम भइरहेको छ । त्यहाँ तीनवटा ठुला ट्याङ्कीहरू बन्दैछन् । पहिलो प्याकेजको काम निर्धारित समयमा सम्पन्न भइसकेपछि दोस्रो चरणमा आम नागरिकको घरघरमा वितरण प्रणालीका काम अघि बढ्ने छ ।
दोस्रो प्याकेजको कामका लागि पनि टेन्डर खुलिसकेको छ । सन्् २०५० सम्म वीरेन्द्रनगरमा खानेपानीको आपूर्ति टार्ने उद्देश्यले निर्माणाधिन यो आयोजनो लम्चीपछिको दोस्रो ठुलो र पम्पिङका हिसाबले नेपालकै सबैभन्दा ठुलो खानेपानी दाबी गरिएको छ । आयोजना कार्यान्वयनका लागि खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईको कार्यालय नै स्थापना गरिएको छ ।


आयोजनामा संघीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको ७ प्रतिशत लगानी छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले गत वर्षदेखि गरिरहेको छ । यसैबीच यो आयोजनाको आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनालसहितको टोलीले दलबल सहित अनुगमन गरेको छ ।
आगामी तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने लक्ष्यसहित निर्माण कम्पनीसँग ३ अर्ब ५० करोड ८ लाख रुपैयाँ लागतमा सम्झौता भई काम अघि बढाइएको हो । आयोजना इकाइ कार्यालय सुर्खेतका अनुसार हालसम्म ५८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ । २०७१ भदौ १३ गते खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत निर्माण व्यवसायीसँग सम्झौता भई काम सुरु भएको थियो ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार