२०८३ वैशाख ६ , आइतबार
१० लाख नाघे कर्णालीका मतदाता

एक लाख नयाँ थपिए, ११ सय मतदान केन्द्र ताेकिए



सुर्खेत । चुनावको मिति नजिकिदै कर्णाली कर्णालीमा निर्वाचन केन्द्रीत गतिविधिहरु बढेका छन् । सबै जिल्लाका निर्वाचन कार्यालयहरुले निर्वाचन लक्षित गतिविधिहरु बढाएका हुन् । शान्त र भयरहीत वातावरणमा निर्वाचन गराउनका लागि कार्यालयहरुले मतदान केन्द्रहरुको अवलोकन, नयाँ मतदाता अनुसार मतदान केन्द्र थप्ने लगायतका गतिविधिहरु सक्रिय पारेका छन् ।
आगामी निर्वाचनका लागि कर्णालीभर दश लाख बढी मतदाताले निर्वाचनमा भाग लिँदै छन् । फागुन २१ गते हुने निर्वाचनका लागि कर्णाली प्रदेशमा १० लाख बढीले मतदानमा भाग लिने लिने भएका छन् । किनकि यसपालि कर्णालीमा धेरै मतदाताहरु थपिएका छन् ।
यसपटक एक लाख २८ हजार आठ सय १७ जना नयाँ मतदाता थपिएपछि कर्णालीमा कुल मतदाताको संख्या दश लाख नाघेको हो । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा नौ लाख आठ हजार चार सय ३३ मतदाता थिए । अब कुल मतदाताको सङ्ख्या १० लाख ३७ हजार दुई सय ५० पुगेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । कुल मतदातामध्ये पाँच लाख २७ हजार आठ सय ८६ पुरुष र पाँच लाख नौ हजार तीन सय ६१ महिला रहेका छन् ।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मतदाता सुर्खेत जिल्लामा रहेका छन् । सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ मतदाता दर्ता छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता रहेका छन् ।


अन्य जिल्लाको मतदाता विवरण अनुसार सल्यानमा एक लाख ६२ हजार चार सय ४९, दैलेखमा एक लाख ६१ हजार दुई सय चार, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुम पश्चिममा एक लाख छ हजार छ सय ६०, कालीकोटमा ८४ हजार छ सय ४६, जुम्लामा ७१ हजार सात सय ३९, मुगुमा ३६ हजार ३१ र हुम्लामा ३४ हजार तीन सय ७२ मतदाता छन् ।
निर्वाचनका लागि कर्णाली प्रदेशभर नौ सय ४१ मतदानस्थल र एक हजार एक सय ३७ मतदान केन्द्र तोकिएका छन् । मतदानस्थलको सङ्ख्याका आधारमा सुर्खेतमा सबैभन्दा धेरै एक सय ४० र हुम्लामा सबैभन्दा कम ६० मतदानस्थल छन् ।
त्यस्तै दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुम पश्चिममा ७६, डोल्पामा ६८ र मुगुमा ६७ मतदानस्थल तोकिएका छन् ।
मतदान केन्द्रको व्यवस्थापन जिल्ला अनुसार फरक–फरक रहेको निर्वाचन कार्यालयले जनाएको छ। सुर्खेतमा सबैभन्दा बढी तीन सय दुई मतदान केन्द्र छन् भने हुम्लामा सबैभन्दा कम ६४ केन्द्र मात्र रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार फागुनको निर्वाचनलाई लक्षित गरी सुरक्षा, सामग्री व्यवस्थापन, कर्मचारी परिचालनलगायत तयारीलाई तीव्र पारिएको छ ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार