२०८३ वैशाख ६ , आइतबार
प्रर्यटन प्रबर्धन

ओझेलमा पर्यो गिद्धेडाँडा पर्यटकीय क्षेत्र



सुर्खेत । पर्यटकीय क्षेत्र भेरीगङ्गा नगरपालिका–५ स्थित गिद्धेडाँडा पछिल्लो समय ओझेलमा पर्दै गएको छ। सात वर्षअघि सङ्घीय सरकारको पर्यटन मन्त्रालयले गिद्धेडाँडालाई देशका एक सय प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेपछि यस क्षेत्रले ठूलो सम्भावना बोकेको गन्तव्यका रूपमा चर्चा पाएको थियो। तर सुरुवाती उत्साहपछि आवश्यक बजेट, संरक्षण र प्रचारप्रसार नहुँदा अहिले गिद्धेडाँडा उपेक्षित बन्दै गएको स्थानीयको गुनासो छ।

गिद्धेडाँडामा भौतिक संरचना निर्माणका लागि २०७६ सालमा सङ्घीय सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसको अर्को वर्ष पुनः ५० लाख रुपैयाँ बजेट आएपछि दुई वर्षमा कुल एक करोड रुपैयाँ खर्च भएको भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए। उक्त बजेटबाट लेकहात्तीखालदेखि गिद्धेडाँडाको टुप्पोसम्म ९४५ वटा सिँढी निर्माण गरिएको छ भने धर्मशाला र मन्दिरसमेत निर्माण गरिएका छन्।

तर पर्याप्त संरक्षण, व्यवस्थापन र नियमित मर्मतको अभावमा ती संरचनाहरू अहिले जीर्ण बन्दै गएका छन्। पछिल्ला वर्षहरूमा सङ्घ र प्रदेश सरकारबाट थप बजेट नआएपछि गिद्धेडाँडा झन् बेवास्तामा परेको नगर प्रमुख ढकालको भनाइ छ। नगरपालिकाले आफ्नै स्रोतबाट सानोतिनो सहयोग गरे पनि त्यो ‘कनिका छरेझैँ’ मात्र भएको उनले बताए।

पहिले सरकारी प्राथमिकतामा परेको गिद्धेडाँडा अहिले भने सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको ध्यानबाट बाहिरिएको स्थानीय बासिन्दाको आरोप छ। उनीहरूले यस क्षेत्रको विकास, संरक्षण र प्रभावकारी प्रचारप्रसारका लागि पर्याप्त बजेट विनियोजन गर्न तीनै तहका सरकारसँग माग गरेका छन्।

गिद्धेडाँडाको भौगोलिक र पर्यावरणीय महत्त्व निकै ठूलो रहेको स्थानीय बताउँछन्। राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङको अन्तिम विन्दु नजिकै रहेको यो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ। तलतिर सिँचाइ सुविधासहितको अर्गानिक गाउँ रहेको छ भने माथिल्लो भागमा लोपोन्मुख गिद्धको बासस्थान छ। यही विशेषताका कारण सङ्घीय सरकारले गिद्धेडाँडालाई सय गन्तव्यको सूचीमा समावेश गरेको नगर प्रमुख ढकालले जानकारी दिए।

भेरीगङ्गा नगरपालिकाले गिद्धेडाँडाको संरक्षण र प्रचारप्रसारमा केही पहल गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ। उनले प्रदेश र सङ्घीय सरकारले विशेष योजना र बजेट छुट्याएर दीर्घकालीन रूपमा यो क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

स्थानीय शिक्षक डिल्लीबहादुर खड्काले सुरुमा गन्तव्य सूचीमा पारेर आशा जगाए पनि पछि अलपत्र पारिएको भन्दै सरकारको आलोचना गरे। “सूचीमा पार्नु मात्र ठूलो कुरा होइन, त्यसलाई जोगाउने र चलायमान बनाउने काम सरकारको जिम्मेवारी हो,” उनले भने।

त्यस्तै, गिद्धेडाँडा रहेको भेरीगङ्गा नगरपालिका–५ का वडाध्यक्ष प्रेमबहादुर सारूले एक करोड रुपैयाँ खर्च भइसकेको उक्त गन्तव्यको व्यवस्थित प्रचारप्रसार र पूर्वाधार थप्न सके आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए। उनका अनुसार सडक, सूचना पाटी, होमस्टे र पर्यटकीय गतिविधि विस्तार गर्न सके गिद्धेडाँडा कर्णालीकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार