२०८३ वैशाख ६ , आइतबार

राउटे बालबालिकालाई भलिबल



सुर्खेत । राउटे समुदायका बालबालिकालाई भलिबल वितरण गरिएको छ । तरुण दल दैलेखका अध्यक्ष मिलन विश्वकर्माले राउटे समुदायका बालबालिकालाई खेलकुद सामग्री स्वरूप भलिबल वितरण गरेका हुन् । सीमित साधन–स्रोतका बीच हुर्किरहेका बालबालिकाका लागि भलिबल केवल खेल सामग्री मात्र नभई नयाँ अनुभव र आत्मविश्वासको माध्यम बनेको देखिन्थ्यो ।
भलिबल हस्तान्तरण गर्दै अध्यक्ष विश्वकर्माले भने, “यो सानो प्रयास भए पनि यसको उद्देश्य राउटे समुदायका बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै उनीहरूलाई सामाजिक परिवेशसँग नजिक ल्याउनु हो ।” उनले यस्ता पहलले बालबालिकामा सकारात्मक सोच र सहकार्यको भावना विकास हुने विश्वास व्यक्त गरे ।
भलिबल पाएपछि बालबालिकाको अनुहारमा देखिएको खुसी र उत्साहले कार्यक्रमको सार्थकता झल्काइरहेको थियो। सरसर्ती हेर्दा सामान्य लाग्ने यस्ता गतिविधिले मनोरञ्जनसँगै बालबालिकाको शारीरिक विकास, सामाजिक घुलमिल र आत्मविश्वास अभिवृद्धिमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ । फिरन्ते जीवन विताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत लबनामा बस्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार