
सुर्खेत । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले समानुपातिक उम्मेद्वारको सूचिमा कर्णाली प्रदेशबाट ९ जनालाई बन्द सूचिमा समेटेको छ । बन्द सूचिमा समेटिएकामध्ये पूर्व माओवादी कोटाबाट चार जना र पूर्व एकीकृत समाजवादीको कोटाबाट ५ जना समेटिएका छन् । समानुपातिक उम्मेद्वारको बन्द सूचिमा पूर्व माओवादी समाजवादीप्रति अनुदार देखिएको छ । प्रत्येक्ष निर्वाचनका लागि अधिकाँश क्षेत्रमा पूर्व माओवादीका उम्मेद्वार बनाउने उद्देश्य स्वरुप नेकपाले एकीकृत समाजवादी धारका नेताहरुलाई समानुपातिकको सूचिमा प्राथमिकता दिएको हो ।
तुलनात्मक रुपमा कर्णालीमा साविक माओवादी केन्द्र समाजवादी भन्दा निकै बलियो छ । यद्यपी पार्टी नै एक भइसकेको र प्रत्येक्ष निर्वाचनमा बढी सिट लिने रणनीतिका साथ पूर्व माओवादीले समाजवादीप्रति अनुदार बनेको हो ।
पूर्व माओवादी खेमाबाट सुर्खेतकी पञ्चा सिंह, कालीकोटकी गंगा खड्का, दैलेखका गोपाल परियार, रुकुम पश्चिमका झक्कुप्रसाद घर्ती र जाजरकोटकी पार्वती विक सूचीमा परेका हुन्। उनीहरूमध्ये पञ्चा सिंह पूर्व अखिल (क्रान्तिकारी) की अध्यक्ष भइसकेकी नेतृ हुन् भने झक्कुप्रसाद घर्ती रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका पूर्व अध्यक्ष हुन् ।
त्यस्तै, साविक एकीकृत समाजवादीबाट जुम्लाका तीर्थबहादुर बुढा, जाजरकोटका कृष्णबहादुर बुढा, मुगुकी जयानन्दा रावल र सल्यानकी शारदा दमै समानुपातिक सूचीमा समावेश भएका छन् ।
जाजरकोटका कृष्णबहादुर बुढा प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भइसकेका भए पनि उनलाई खस–आर्य समूहअन्तर्गत समानुपातिक कोटामा राखिएको छ। उता, सल्यानकी शारदा दमैलाई पार्टी जिल्ला कमिटीले सिफारिस नगरेको अवस्थामा समानुपातिक सूचीमा राखिएपछि पार्टीभित्र विवाद देखिएको छ ।
नेकपाले समानुपातिक उम्मेदवार छनोटका क्रममा विभिन्न क्लस्टरतर्फ करिब ८० जनाको नाम सिफारिस गरेको थियो। अन्तिम सूची सार्वजनिक भएसँगै कर्णालीमा उम्मेदवार छनोटबारे राजनीतिक चर्चा चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस्