२०८३ वैशाख ६ , आइतबार
चुनावी चर्चा

कालीकाेटमा भिड्ला त प्रकाण्डसँग प्रचण्ड ?



सुर्खेत । कालीकोट तत्कालीन माओवादी केन्द्र (कालकाे नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बलियो उपस्थिति भएको क्षेत्र मानिन्छ । जहाँ युद्धकालीन अवस्थामा खड्ग बहादुर विश्वकर्मा प्रकाण्डको ठूलो प्रभाव थियो । साथमा थिए, महेन्द्रबहादुर शाही लगायतका हजारौ नेता र कार्यकर्ताहरु लामो पंत्ति । तर शान्ति प्रक्रियापछि प्रकाण्ड धेरै समय पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको पार्टीमा अटाउन सकेनन् । यद्यपी कालीकोटमा प्रकाण्डले  आफ्नो प्रभाव कायमै राखे । भलै प्रकाण्डको स्थानमा अर्का नेता महेन्द्रबहादुर शाही सिफ्ट हुन नखाेजेका हाेइनन् । प्रकाण्डले छोडेपछि संसदीय निर्वाचमा उनै शाहीले पटक-पटक बाज्जी मारे । संघीय संसददेखि प्रदेशसभासम्म उक्लिए । कर्णाली प्रदेश सरकारको त संस्थापक मुख्यमन्त्री नै भए । अहिले रुकुमपश्चिमका नेता जनार्दन शर्माले प्रचण्डको साथ छोडेपछि उनै महेन्द्रबहादुर शाही शर्माको स्थान ओगट्ने प्रयासमा छन् । पटक–पटक शक्ता र शक्तिमा पुगेपनि कालीकोटमा अहिले पनि शाहीले प्रकाण्डको स्थान ओगट्न सकेका छैनन् ।
त्यसलाई पुष्टि गर्ने पछिल्लो उदाहरण कालीकोटबाट आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एकल उम्मेद्वारी सिफारिस हो । माओवादीमा प्रतिनिधिसभामा चुनाव लड्न सक्ने थुप्रै नेता हुँदाहुँदै पनि प्रचण्डको एकल उम्मेद्वारी सिफारिसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले आगामी निर्वाचनमा जित्ने सक्ने अन्य जिल्लाहरु सुरक्षित नभएपछि प्रचण्डले नै कालीकोट रोजेको अनुमान गरेका छन् । पटक–पटक निर्वाचन फेरेर चुनाव लड्ने प्रचण्डको बानीका कारण एक हदसम्म यो भनाइ तथ्य नजिक छ ।


तर त्योभन्दा पहिलाे र बलियो पक्ष आगामी चुनावमा कालीकोटबाट उनै खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड भिड्ने चर्चा हो । यसै पनि प्रकाण्ड रहेको र विप्लवले नेतृत्व गर्दै आएको नेकपा माओवादीले आगामी निर्वाचनमा भाग लिने घोषणा गरिसकेको छ । यसअघिका निर्वाचनहरू बहिस्कार गर्दै आएको विप्लवको पार्टी चुनावमा भाग लिए प्रकाण्डको निर्वाचन क्षेत्र कालीकोट नै हो । अहिलेकाे अवस्थामा प्रतिनिधिसभामा एक मात्र सिट रहेको कालीकोटमा प्रकाण्ड चुनाव लड्ने पक्कापक्की जस्तै हो । अनि प्रचण्ड कालीकोट नआएको खण्डमा नेपाली कम्युनिष्ट पार्टीबाट चुनाव लड्ने सबैभन्दा बलिया पात्र उनै महेन्द्रबहादुर शाही हुन् । यद्यपी प्रकाण्डसँग शाहीको तुलना गरेकाे साेभनिय हुँदैन ।
महेन्द्र र प्रकाण्ड चुनावमा आमन्ने सामन्ने भए प्रकाण्ड नै बलियो बन्ने देखिन्छन् । त्यसैपनि मुख्यमन्त्री र पटक–पटक प्रतिनिधिसभामा पुगिसकेका महेन्द्रसँग मतदाताको त्यति ठूलो अपेक्षा छैन । शान्ति प्रक्रियापछि एक पटक मात्र मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका प्रकाण्डलाई मतदाताले परीक्षण गर्ने मौका पाएका छैनन् । यसकारण पनि आगामी निर्वाचनमा महेन्द्र प्रकाण्डसँग चुनाव लड्ने आँट नराखेपछि प्रचण्डलाई आगामी निर्वाचनमा उम्मेद्वार बनाउने प्रयास गरिएको नेपाली कम्युनिष्ट पार्टीका नेताहरु नै बताउँछन् । कालीकोटमा प्रकाण्ड बलियो हुनुको दोस्रो पाटो दलित समुदायको बलियो उपस्थिति हो । जनगणना २०७८ को प्रतिवेदन अनुसार कालिकाेटमा एक लाख ४५ हजार दुई सय ९२ जना जनसंख्या छ । जसमध्ये ४२ हजार ८५ जना दलित समुदाय छन् । यसकारण जातीय मुद्धाका कारण पनि प्रकाण्ड बलिया उम्मेद्वार हुन् ।
तेस्रो कारण भनेको कालीकोटमा कालको नेकपालार्ई हराउने एमाले र काँग्रेसले पनि प्रकाण्डलाई नै समर्थन गर्न सक्ने अर्काे सम्भावना छ । यसै पनि एमाले र काँग्रेसले आगामी निर्वाचनमा मिलेर अगाडि बढ्ने तयारीमा छन् । एमाले र काँग्रेसका कुनै पनि उम्मेद्वारले जित्न नसक्ने सम्भावनाका कारण उनीहरुले प्रकाण्डलाई नै समर्थन गर्न सक्ने ठूलो सम्भावना छ ।
यसै पनि माओवादी शान्ति प्रक्रियामा आएदेखि एमाले र काँग्रेसले हालको नेकपा र तत्कालीन माओवादीसँग परिजाति हुँदै आएको छ । यिनै तीन कारणले जोखिमका कारण आगामी निर्वाचनमा कालीकोटमा महेन्द्र शाहीलाई चुनाव जित्न त्यति सहज छैन । जसले गर्दा शाहीले नै प्रचण्डलाई कालीकोटबाट चुनाव लडाउन खोजेका हुन् । यद्यपी हालसम्म शीर्ष तहका नेताहरु प्रतिस्पर्धा गर्ने परम्परा छैन् । एउटा दलकाे शीर्ष नेताहरु उठेको स्थानमा अर्काे दलले कमजोर नेतालाई चुनावको टिकट दिने चलन छ । यही कारण प्रचण्ड कालीकोटमा आएर प्रकाण्डसँग चुनावमा भिड्ने सम्भावना निकै कम छ । यद्यपी आगामी प्रतिनिधिसभाको निर्वाचनमा कालीकोटमा प्रचण्डको मात्रै एकल उम्मेद्वारी सिफारिसले भने थुप्रै प्रश्न र आशंका उब्लाएको छ ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार